नेपाल–भारतबीच हवाई उडान तत्काल पुनः सुरू नहुने
काठमाण्डौँ । कोरोना भाइरसको महामारीका सृजित लकडाउन परिस्थिति पछि अवरुद्ध भएको नेपाल–भारतबीच हवाई उडान तत्काल पुनः सुरू नहुने देखिएको छ । नेपालमा कोरोना संक्रमण निरन्तर बढिरहेको र भारतमा पनि संक्रमण फैलिरहेकै अवस्था छ । यस अवस्थामा दशैँअघि दुवै देशबीच हवाइ उडान सुरु हुने सम्भावना देखिँदैन ।
भारतले दुई देशका विमानमा तत्कालका लागि दुवै देशका र अन्य कूटनीतिक नियोगका कर्मचारी मात्रै बोक्न पाउने गरी उडान सुरु गर्न नेपाललाई प्रस्ताव पठाएको थियो ।
सीमित उडान र यात्रु बोक्न पाउने यस्तो प्रस्तावमा नेपाल सहमत छ । हवाइ क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतको उक्त प्रस्तावमा सहमति जनाइसके तापनि उडान भने दशैँअगावै सुरु नहुने बताइएको छ ।
स्रोतका अनुसार भारतको उक्त प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीबाट समेत पारित भइसकेको तर मन्त्रिपरिषदमा गएर अड्किएको अवस्था छ । त्यसैले दुवै देशबीच उडान सुरू गर्न ढिलाइ भइरहेको बताइएको छ ।




























