अक्टोबर १७ देखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न दिइने
काठमाडौं । आगामी अक्टोबर १७ देखि विदेशी पर्यटक नेपालमा भित्रिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको छ । मन्त्रालयले कोरोना संक्रमणको नेगेभिट रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई नेपालमा प्रवेश गर्न दिने जनाएको छ ।
पर्यटन मन्त्रालयले प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका मन्त्रीहरुसंगको बैठकपछि यस्तो घोषणा गरेको बताएको छ । विदेशी पर्यटकले नेपाल भ्रमण गर्नुअघि पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने सरकारी अधिकारीहरुले जनाएका छन् ।
बिरामी भएको खण्डमा उपचार खर्च विदेशी पर्यटकले आफैँ व्यहोर्नु पर्ने जनाइएको छ । पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पनि भिसा दिइने बताइएको छ ।























