stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अन्तःशुल्कको स्टिकर नेपालमै छापिँदै, तीन सुरक्षा घेराभित्र छपाइ गरिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा पहिलोपटक अन्तःशुल्कको स्टिकर छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मद्रणालय (सेक्युरिटी प्रेस) मा करिब ७० करोड थान स्टिकर छाप्न लागिएको हो ।

केन्द्रले एक दुई दिनमा नमुना छपाइ गरेर स्वीकृत गराएपछि छाप्ने निश्चित भएको हो । केन्द्रका प्रवक्ता चित्र आचार्यले विभागको डिजाइनअनुसार नमुना स्वीकृत गराएपछि छपाइ शुरू गर्ने जानकारी दिनुभयो ।

विदेशी कम्पनीले छाप्दै आएको अति महत्वपूर्ण स्टिकरको छपाइको टेन्डर रद्द भएपछि जीटुजी प्रक्रियाअनुसार जनक शिक्षा सामग्रीलाई दिन लागेको होे ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले केन्द्रसँग दुई महिनाअघि गरिएको सम्झौताका आधारमा छपाइ गर्न लागिएको जानकारी दिनुभयो ।

विभागले सरकारी निकायसँग प्रतिस्पर्धा गर्न नपर्ने भएकाले केन्द्रको सेक्युरिटी प्रेसमा छपाइ गर्न दिएको उहाँको भनाइ थियो । महाप्रबन्धक कुँवरले केन्द्रले केही दिनभित्र छपाइ शुरू गर्ने बताउनुभयो ।

केन्द्रले विभागले दिएको नमुना र सेक्युरिटी फिचर्सको आधारमा स्टिकर छपाइ गर्ने जनाएको छ । पहिलो चरणमा चुरोट र त्यसपछि अन्य क्षेत्रको स्टिकर छपाइ गर्ने विभागको भनाइ छ । महानिर्देशक कुँवरले पहिलो स्टिकर छपाइको गुणस्तर हेरेपछि अन्य काम दिने बताउनुभयो ।

अति गोप्य सामग्रीका रूपमा रहेको स्किटर छपाइ गर्न तीन घेराको सुरक्षा हुनेछ । छाप्ने प्रेसमा नेपाली सेनाको बटालियन तैनाथ हुनेछ भने दोस्रो र तेस्रो घेरामा सशस्त्र र नेपाल प्रहरी बस्नेछ । छपाइ शुरू भएपछि प्रेसमा अपरेटर र केन्द्रका जिम्मेवारी व्यक्ति र विभागका अधिकार प्राप्त व्यक्ति बस्नेछन् ।

केन्द्रका प्रवक्ता आचार्यले स्टिकर छपाइ गर्न भारतबाट ४० टन अल्ट्रा भ्वाइलेट (यूभी) कागज ल्याइसकेको जानकारी दिनुभयो । सेक्युरिटी फिचर्स रहेको सो कागज टेन्डरबाट खरिद गरिएको हो । यस्तो स्टिकर नेपालमा पहिलो पटक छाप्न लागेको हो ।

विभाग र केन्द्रबीच निरन्तर काम गर्ने गरी सम्झौता भएको छ । सुरक्षाको कारण निजी छापाखानालाई नदिएर जनकलाई जिम्मा दिएको महानिर्देशक कुँवरले बताउनुभयो ।

अरू सामानमा प्रयोग हुने स्टिकर मौज्दात रहे पनि चाँडै खपत हुुने चुरोटको स्टिकर सकिनै लागेकाले तत्काल छाप्न स्वीकृत दिएको कुँवरको भनाइ छ ।

नेपालमा पहिलो पटक छपाइ गर्न लागिएको अन्तःशुल्कको स्टिकर यसअघि लिथोनिया र इन्डोनेसियामा छपाइ गरेर ल्याइएको थियो । कोरोना संक्रमणका कारण विदेशमा दिन सम्भव नभएको र जनक शिक्षाले आफ्नो सेक्युरिटी प्रेसमा छपाइ गर्न सक्ने ग्यारेन्टी दिएकाले विभागले पहिलोपटक नेपालमै छपाइ गर्न लागेको हो ।

महानिर्देशक कुँवरले केन्द्रले सुरक्षा मापदण्ड पूरा गरेर छाप्न सक्ने जनाएपछि सोहीअनुसार योजना बनाएर छाप्न दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘यसअघि एसईई, कक्षा ११ र १२, निर्वाचन आयोगको मतपत्रलगायत अति महत्वपूर्ण र गोप्य सामग्री छापिसकेको अनुभवले गर्दा पहिलोपटक केन्द्रलाई स्टिकर छाप्न अनुमति दिएका हौं ।’

जनकले वर्षभरि स्किटर लगायत अन्य गोप्य सामग्री छपाइ गर्नका लागि थप सेक्टुरिटी प्रेस खरिद गर्न बजेट विनियोजन गरेको छ । ‘चालू आबमा सेक्युरिटी प्रेस खरिद गर्न २५ करोड बजेट विनियोजन गरेका हौं।’ –केन्द्रका प्रवक्ता आचार्यले भन्नुभयो । विभागले पहिलो कामको मूल्याङ्कनलगत्तै अन्य काम दिने भएपछि थप प्रेस खरिद गर्न लागेका आचार्यको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन ।

prabhu mahalaxmi
kumari