वैद्य र विप्लवको एकता तयारी
काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि एकाकार हुने तयारी शुरू भएको छ । नेकपा (क्रान्तिकारी माओवादी )का महासचिव मोहन वैद्य ‘किरण’ र सरकारद्वारा प्रतिबन्धित गरिएको पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पुर्व माओवादी पार्टी वीच एकता गर्न छलफल चलेको छ ।
यी दुई पार्टी स्रोतले बताएअनुसार पूर्वमाओवादी पार्टीहरु बीचको एकता गराउन अब छिट्टै सामुहिक भेलाको समेत तयारी भैरहेको छ ।
आगामी असोजभित्रै पूर्व माओवादी पार्टीहरु बीचको एकताका लागि छलफल हुँदैछ । जसको लागि वैध र विप्लवले भित्रि रुपमा अगुवाई गरिरहेका छन् । यसमा गोपाल किरातीको नेकपा (माओवादी ) पनि सहभागी हुने भएको छ।
२०६५ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस र तत्कालिन नेकपा एमालेलाई समेत निकै पछि पार्दै पहिलो नम्बरको पार्टी बनेको नेकपा माओवादी पार्टी त्यसयता झण्डै आधा दर्जनको हाराहारीमा विभाजित भएको छ । माओवादी आन्दोलनको मुख्य नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसँग पार्टी एकता गर्दै हाल सत्तारुढ नेकपाको नेतृत्वमा छन् ।
प्रचण्डसँगैका नेता डा. बाबुराम भट्टराई महन्थ ठाकुर र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा चौथो वरीयतामा छन् भने बैद्य किराती र विप्लवले बेग्ला–बेग्लै घटकको नेतृत्व गरिरहेका छन् ।.
तत्कालिन माओवादीका प्रभावशाली नेता मानिने गोपाल किँराती हाल तत्कालिन माओवादी केन्द्रलाई ब्युँताएर बसेका छन् ।
विभाजन र टुटफुटले खुम्चिन बाध्य भएका मोहन वैद्य ‘किरण’ले पूर्व माओवादीहरु बीच एकता गराउन बहस चलाउँदै आएका छन् । वैद्य निकट स्रोतले उल्लेख गरे अनुसार उनले सत्तारुढ नेकपाभित्रका नेता र प्रतिबन्धित नेकपाका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् ।
पछिल्लो समय बैद्यले नेकपाका महासचिव विप्लव र माओवादीका किरातीलाई ‘लाईन क्लियर गर्न’ भन्दै पत्र पठाएका छन । उनले विप्लवलाई एकता अनिवार्य रहेको भन्दै आगामी दृष्टिकोण स्पष्ट पार्न आग्रह गर्दै आएका छन । जससँगै विप्लवले तयारी थालेको बुझिएको छ ।
यसै विच स्रोतका अनुसार सरकारी प्रतिबन्धको पीडामा रहेको नेकपा विप्लव समुहले नयाँ रणनीति बनाउन लागि परेको छ । विप्लवले पार्टी सचिवालको बैठक समेत डाकेको बुझिन आएको छ । छिट्टै विप्लव नेतृत्वको नेकपाले सचिवालय बैठक मार्फत पुर्व माओवादी पार्टी एकताको नयाँ रणनीति बनाउने बुझिएको छ ।





















