मणिपाल अस्पतालमा मुक्तिनाथ बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ ।
सम्झौताअनुसार अस्पतालका विभिन्न सेवा तथा सुविधामा १० देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई न्यूनतम ब्याजदरमा प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जा तथा अन्य सहुलियतपूर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ ।
यस सहकार्यबाट दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ हुनुका साथै बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीले सहज, सरल तथा प्राथमिकतायुक्त बैंकिङ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त सम्झौताले स्वास्थ्य सेवा र वित्तीय सेवाबीचको सहकार्य विस्तार गर्दै ग्राहक सन्तुष्टि, संस्थागत सम्बन्ध तथा पारस्परिक लाभ अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।




























