citizens life insurance long ad
stcnepal long ad

बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिँदै गएको छ तर त्यही अनुपातमा कर्जा प्रवाह बढ्न सकेको छैन। लगानी विस्तार नहुँदा बैंकमा पैसा थुप्रिने र त्यसलाई व्यवस्थापन गर्न बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै गएका छन्। यसको असर बचतकर्ताको प्रतिफलमा देखिन थालेको छ भने अर्थतन्त्रमा लगानी र आर्थिक गतिविधि सुस्त रहेको देखाएको छ।

बैंकहरुले मंसिरका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट घटेर ३.९२ प्रतिशतमा झरेको छ। मंसिरमा ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १४ वटाले पुरानै दरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३ प्रतिशतबाट घटेर २.९९ प्रतिशतमा सीमित भएको छ। यसले बैंकहरुलाई निक्षेप आकर्षित गर्नभन्दा उपलब्ध स्रोत व्यवस्थापन गर्न बढी चुनौती रहेको देखाउँछ।

बैंकिङ प्रणालीमा रहेको तरलता र कर्जाको मागबीचको अन्तरले यो अवस्थालाई प्रस्ट पार्छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। तर, कुल कर्जा प्रवाह ६१ खर्ब १८ अर्ब रुपैयाँ मात्रै छ।

कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७०.९६ प्रतिशतमा सीमित छ। अर्थात् बैंकहरुसँग कर्जा लगानी गर्न सकिने स्रोत पर्याप्त भए पनि त्यसलाई उपयोग गर्ने माग कमजोर छ।

यो अवस्था केवल बैंकिङ क्षेत्रको ब्याजदरसम्बन्धी विषय होइन। अर्थतन्त्रमा लगानीका अवसर, व्यावसायिक विस्तार र नयाँ परियोजनाको अभावसँग पनि जोडिएको छ। बैंकमा पैसा जम्मा भइरहँदा उद्योग, व्यवसाय तथा पूर्वाधार क्षेत्रमा त्यसको उपयोग हुन नसक्नुले आर्थिक गतिविधिमा अपेक्षित गति आउन नसकेको संकेत गर्छ।

पछिल्ला दुई–तीन वर्षयता अर्थतन्त्रलाई गति दिने ठूला परियोजनाहरु प्रभावकारी रुपमा अघि बढ्न सकेका छैनन्। राष्ट्रिय गौरवका आयोजनाहरु जग्गा प्राप्ति, वन क्षेत्रको अवरोध र रेखांकनजस्ता समस्यामा अल्झिएका छन्। फास्ट ट्रयाक, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर–दक्षिण करिडोर तथा भेरी–बबई र सुनकोसीजस्ता आयोजनामा अपेक्षित गति र बजेट परिचालन हुन सकेको छैन। ठूला परियोजनाको कार्यान्वयन सुस्त हुँदा त्यससँग जोडिने निजी क्षेत्रको लगानी, निर्माण सामग्रीको माग, रोजगारी र व्यावसायिक गतिविधिसमेत प्रभावित भएका छन्।

अर्कोतर्फ रेमिट्यान्स आप्रवाह निरन्तर भइरहे पनि त्यसको अनुपातमा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन सकेको छैन। आर्थिक गतिविधि बढेपछि मात्रै कर्जाको माग बढ्ने र बैंकिङ प्रणालीमा रहेको रकम परिचालन हुने हो। तर, अहिले निक्षेप बढिरहेको अवस्थामा पनि लगानीको माग कमजोर रहँदा बैंकहरुले ब्याजदर घटाएर स्रोत व्यवस्थापन गर्न खोजिरहेका छन्।

बैंकिङ क्षेत्रमा देखिएको यो प्रवृत्तिले बचतकर्ताको आम्दानीमा समेत असर पार्छ। मुद्दति निक्षेपमा ब्याजदर घट्दै जाँदा बैंकमा पैसा राखेर प्राप्त हुने प्रतिफल कम हुन्छ। तर, ब्याजदर घट्नुको अर्थ ऋण लिनेहरुका लागि मात्रै सहज अवस्था सिर्जना हुनु होइन। कर्जाको ब्याजदर घटे पनि लगानी गर्ने आत्मविश्वास, बजारमा माग र व्यावसायिक अवसर नबढेसम्म सस्तो ऋणले मात्रै आर्थिक गतिविधि विस्तार गर्न सक्दैन।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले तत्काल ब्याजदर बढ्ने सम्भावना पनि न्यून देखिन्छ। चाडपर्वपछि आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिए पनि त्यसको प्रभाव कर्जा मागमा कति पर्छ भन्ने स्पष्ट भइसकेको छैन। नयाँ लगानीका अवसर सिर्जना नभए र ठूला परियोजनाको कार्यान्वयनले गति नलिए निक्षेपको ब्याजदर घट्ने क्रमले थप समय निरन्तरता पाउन सक्छ।

अहिलेको मुख्य चुनौती बैंकमा पैसा अभाव हुनुमात्र नभएर उपलब्ध पैसालाई उत्पादन, व्यवसाय र रोजगारी सिर्जना हुने क्षेत्रमा परिचालन गर्न नसक्नु हो। बैंकमा पैसा थुप्रिनु वित्तीय प्रणालीका लागि सहज अवस्था देखिए पनि त्यसलाई उपयोग गर्ने आर्थिक गतिविधि नबढ्नु अर्थतन्त्रका लागि भने चिन्ताको विषय हो।

IME Life
kumari