साउनदेखि असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन
आइएमई लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको उच्च वृद्धि
काठमाडौं । चालू आर्थिक वर्षको प्रथम त्रैमास अर्थात साउनदेखि असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष १६.८५ प्रतिशतले बढेको हो ।
तथ्यांक अनुसार ११ वटा कम्पनीहरुको कुल बीमाशुल्क गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने ८ कम्पनीको २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल, हिमालयन लाइफ इन्स्योरेन्स, राष्ट्रिय जीवन बीमा कम्पनी अग्रस्थानमा रहेका छन् ।

यद्यपि वृद्धिदरका आधारमा हेर्ने हो भने नयाँ कम्पनीहरु आक्रामक रूपमा अघि बढिरहेको तथ्यांकले देखाएको छ। आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा चालू आर्थिक वर्षमा ४३.२० प्रतिशतको छलाङ मार्दै २ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क कमाउन सफल भएको छ।
त्यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ अर्ब ४० करोड ६ लाख रुपैयाँबाट ३१.४१ प्रतिशतले बढेर १८ अर्ब ४० करोड ५ लाख रुपैयाँ पुगेको छ भने नेशनल लाइफको पनि ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँबाट २९.५१ प्रतिशतले बढेर ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ ।

त्यसपछि रिलायबल लाइफ इन्स्योरेन्सको २७.०७ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २३.८० प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको २२.६० प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको २२.०३ प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको १६.१२ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको १५.६८ प्रतिशत, मेटको १२.१९ प्रतिशत, एलआईसीको ९.५२ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ९.४७ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ६.६१ प्रतिशतले बीमाशुल्क वृद्धि भएको छ।























