कर्जा सुरक्षण योजना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच ऋणीगत (एकल) कृषि कर्जा सुरक्षण योजना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार कृषि कर्जा सुरक्षण योजना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, बाजुराको बुढीगङ्गा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका गरी नौ वटा स्थानीय तहमा सञ्चालन हुने भएको छ ।
उल्लिखित स्थानीय तहमा दुई वर्षसम्म प्रतिस्थानीय तह आठ करोडका दरले १६ करोड रुपियाँसम्म लगानी गरिने बैङ्कले जनाएको छ । योजनामा कर्जाको सीमा प्रतिग्राहक दुई लाख ५० हजारदेखि तीन करोड रुपियाँसम्म र कर्जाको अवधि सात वर्षको हुने व्यवस्था रहेको छ ।
समझदारीपत्रमा रावा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिलाराम गिरीले हस्ताक्षर गर्नुभयो ।
सम्झौताबाट योजना कार्यान्वयनमार्फत उद्यमशीलताको विकास, उत्पादकत्व अभिवृद्धि, खाद्य सुरक्षा र रोजगारी सिर्जनामार्फत राष्ट्रिय अर्थतन्त्रको दिगो एवं उत्थानशील विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।























