stcnepal long ad
global ime bank long

काठमाडौँ उपत्यकामा खाद्यान्न र हरियो तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भोटेकोशी हिमबाढीले यातायात अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाद्यान्न र हरियो तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्नुपर्दा ढुवानी भाडा र समय बढेको भन्दै व्यवसायीले उपभोग्य वस्तु र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

एकातिर व्यवसायीहरूले काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले तत्कालै चरम अभाव हुने अवस्था नरहेको बताएका छन् भने अर्कोतिर वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी भाडा बढेको भन्दै अधिकांश खाद्यान्न, हरिया तरकारी र फलफूलको मूल्य बढाएका छन् ।

हिमबाढीका कारण पृथ्वी राजमार्गको गल्छी सडकखण्ड डुबानमा परेको थियो । सडक खुलाइएको दोस्रो दिनमै आइतबार बाढीले कटान गर्दा कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ भित्रिने मुख्य मार्ग पूर्ण रूपमा ठप्प भएको छ ।

नेपाल चामल, तेल, दाल उद्योग सङ्घ र नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले आत्तिहाल्नुपर्ने अवस्था भने छैन । व्यवसायीका अनुसार सामान्यतः उपत्यकामा तीन महिनालाई पुग्ने चामल र एक महिनालाई पुग्ने अन्य खाद्यान्नको मौज्दात सुरक्षित हुन्छ ।

अहिले भने काठमाडौँ भित्रिने प्रमुख नाका पृथ्वी राजमार्ग बन्द हुँदा ठुला ट्रकबाट एकै पटक धेरै परिमाणमा सामान ल्याउन नसकिएको र वैकल्पिक एवं लामो बाटो प्रयोग गर्दा ढुवानी लागत बढेर तुलनात्मक रूपमा थोरै मूल्य बढेको बताउँछन् ।

पछिल्लो समयमा खाद्यान्नको मूल्य बढ्नुमा ढुवानी नै प्रमुख कारण रहेका सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताउनुभयो । ढुवानी असहज भएसँगै उपत्यकाका थोक तथा खुद्रा पसलमा चामल, चिनी, गेडागुडी, खानेतेललगायतका दैनिक उपभोग्यवस्तुको मूल्य पाँचदेखि २० प्रतिशतसम्म बढेको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक साताको बिचमा चिनी प्रतिकेजी १२० रुपियाँबाट १३५ रुपियाँ, काँचो तोरीको तेल प्रतिलिटर ३७० रुपियाँबाट ४२० रुपियाँ, सन्फ्लावर प्रतिलिटर २९५ रुपियाँबाट ३१० रुपियाँसम्म पुगेको छ । जिरा मसिनो चामल प्रतिबोरा दुई हजार तीन सय रुपियाँबाट दुई हजार पाँच सय रुपियाँ पुगेको छ ।

खुद्रा व्यापार सङ्घका महासचिव अमुलकाजी तुलाधरले उद्योगी र थोक व्यापारी तीन महिना चामल र एक महिनाका लागि अन्य खाद्यान्न मौज्दात रहेको दाबी गरेका उद्योगीले पछिल्ला दिनमा ढुवानीका नाममा सबैको मूल्य बढाएर बिक्री गरेकोमा आश्चार्य प्रकट गर्नुभयो ।

“बजारमा सीमित केही व्यापारीले मनपरी गर्दा समेत बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग कहाँ छ,” उहाँले प्रतिप्रश्न गर्नुभयो ।

अनुगमन तीव्र पारिएको विभागको दाबी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विपत्को समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र अनुचित मूल्यवृद्धि गर्नेविरुद्ध कडा कारबाही गर्ने दाबीसहित बजार अनुगमनमा होमिएको दाबी गरेको छ ।

विभागका निर्देशक अनिल किराँतीले गएको सातादेखि काठमाडौँ जोडिने प्रमुख नाका पृथ्वी राजमार्ग बन्द हुँदा उपत्यकामा देखिने खाद्य, तरकारी र फलफूलमा केन्द्रित रहेर अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

यस अनुगमनका क्रममा ठुला गोदामदेखि खुद्रामा रहेका साना पसलसम्म अनुगमन गरेर कानुनविपरीत कार्य गर्नेलाई कारबाही र जरिबाना गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

IME Lifesidebar
kumari