२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प: वैदेशिक रोजगारी र अध्ययनमा जाने सेवाग्राही मारमा
काठमाडौँ । देशभर २२ दिनदेखि लाइसेन्स प्रिन्ट पूर्ण रूपमा ठप्प बनेको छ । यसभन्दा अघि यातायात व्यवस्था विभाग छपाइ हुँदै आएको लाइसेन्स प्रदेशले नै छपाइ गर्ने छ भनेर सूचना निकालेको २२ दिन बितिसक्दा पनि कुनै पनि प्रदेशको यातायात मन्त्रालयअन्तर्गतका कार्यालयले लाइसेन्स प्रिन्ट सुरु गरेका छैनन् ।
विगत २२ दिनदेखि सुरक्षण मुद्रण केन्द्रमार्फत हुँदै आएको छपाइ कार्य असार मसान्तसम्मका लागि तोकिएको कोटा सकिएपछि रोकिएको हो ।
देशभर नयाँ ट्रायल पास गरेका, नवीकरण गर्न दिएका र वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूले पनि लाइसेन्स पाएका छैनन् ।
इटहरीबाट विदेश अध्ययन गर्न जाने तयारीमा रहेको श्याम लामा लाइसेन्स प्रिन्ट गरेर लिन विभाग आएका थिए । विभागले सम्बन्धित यातायात कार्यालय जान भन्यो ।
उनले भने, ‘बालेन सरकार आएपछि केही समय त लाइसेन्स प्रिन्ट भएको थियो । मैले प्रदेशको यातायात कार्यालयमा गएर लाइसेन्स प्रिन्ट भयो भनेर सोधेँ ।
त्यहाँको कार्यालयले विदेश अध्ययनका लागि लाइसेन्स आवश्यक हो भने विभाग गएर तत्काल नै लाइसेन्स प्रिन्ट हुन्छ भनेर भन्यो । म यहाँ विभाग आएँ ।
तर लाइसेन्स प्रिन्ट अब सम्बन्धित कार्यालयले नै गर्ने हो उतै गएर बुझ्नु भनेर मलाई फर्कायो । अब के गर्ने के खै ? ७ दिनपछि पढ्नका लागि विदेश जानुपर्ने छ । राज्यले लाइसेन्स प्रिन्ट गरेर दिँदैन ।’
विगत चार वर्षदेखि छपाइ मेसिन, जनशक्ति र सफ्टवेयरको समस्या झेल्दै आएको विभागले पछिल्लो समय सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी काम अघि बढाएको थियो ।
विभागका निर्देशक केशव खतिवडाद्वारा जारी विज्ञप्तिअनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका २ लाख ७४ हजार २५३ थान स्मार्ट कार्डहरू २०८३ साउन ७ गतेसम्म छापिएर हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयहरूमा पठाइसकिएको छ ।
उक्त परिमाणको कार्ड छपाइ सकिएयता नयाँ प्रिन्ट नहुँदा विशेष गरी वैदेशिक रोजगारी र अध्ययनको लागि जाने नागरिकहरू प्रत्यक्ष मारमा परेका छन् । विदेश जाँदा अनिवार्य जस्तै मानिने स्मार्ट कार्ड समयमा नपाउँदा सेवाग्राहीहरूले सास्ती व्यहोर्नुपरेको छ ।
विभागले म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्सको छपाइ नगरिने र नवीकरणपछि १० वर्ष अवधिको कार्ड पाइने स्पष्ट पारेको छ ।
विभागले भनेको छ, ‘सवारी चालक अनुमति पत्रमा भएको विवरणगत त्रुटिहरूको सुधार, लाइसेन्स छपाइ र वितरण सम्बन्धी कार्य सम्बन्धित कार्यालयबाट तत्कालै हुने प्रबन्ध मिलाइएकाे छ ।
उल्लेखित सेवा तथा वैदेशिक रोजगारीमा जान लागेकाहरुका लागि द्रुत छपाइ र कार्ड वितरण सम्बन्धी सेवा प्राप्तिका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुमा सम्पर्क गर्नुहुन अनुरोध छ ।’





















