गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नागरिकले अब नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।
नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल मेडिकल कलेज र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य उपचारसम्बन्धी महत्वपूर्ण सम्झौता भएको हो ।
बिहीबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सम्झौतापत्रमा हस्ताक्षर गरे । स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कलेजले नगरपालिकासँग सहकार्य गरेको हो ।
नगरवासीलाई १ लाखसम्म उपचार खर्च
सम्झौताअनुसार नेपाल सरकारबाट उपलब्ध स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, औषधि उपचार कोषलगायतका सरकारी स्वास्थ्य सुविधाको पूर्ण उपयोग गरिसकेपछि मात्र नगरपालिकाको यो सुविधा लागू हुनेछ ।
नगरवासीको उपचारमा नगरपालिकाले ८५ प्रतिशत खर्च व्यहोर्दा कलेजले समेत १५ प्रतिशत छुट दिएको छ । कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत नगरवासीहरूलाई उक्त सुविधा दिएको हो ।
सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास भएका र नगरपालिकाबाट सिफारिस लिएर आएका नागरिकले १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार प्राप्त गर्नेछन् । सेवा लिन नागरिकता र मतदाता परिचयपत्रका आधारमा पहिचान खुलाउनुपर्नेछ ।
उपचारका क्रममा आवश्यक औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । त्यस्तै, रगत आवश्यक परेमा नगरपालिकाले प्रतिपिन्ट १ हजार १५० रुपैयाँसम्म प्रयोगशाला परीक्षण शुल्क शोधभर्ना गर्ने व्यवस्था गरिएको छ ।
ओपीडीदेखि क्याथ ल्याबसम्म छुट
सम्झौताअन्तर्गत नेपाल मेडिकल कलेजले गोकर्णेश्वर नगरवासीलाई निःशुल्क ओपीडी दर्ता सुविधा दिनेछ । साथै, अस्पतालका विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ ।
छुट पाउने सेवामा प्रयोगशाला परीक्षण, जनरल बेड, एक्स–रे, यूएसजी, ईसीजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, फिजियोथेरापी, डायग्नोस्टिक प्रोसेडर, दन्त सेवा, क्याथ ल्याब तथा इम्प्लान्टबाहेकका शल्यक्रिया लगायत छन् ।
‘आर्थिक अभावमा उपचार नपाएर मर्नुपर्ने अवस्था हुँदैन’
सम्झौता कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले नगरवासीलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन नगरपालिका प्रतिबद्ध रहेको बताए ।
“गोकर्णेश्वरवासी कोही पनि आर्थिक अभावमा उपचार नपाएर मर्नु पर्दैन, हामीले १३ वटा अस्पतालसँग सम्झौता गरेर १ लाख रुपैयाँसम्मको उपचार खर्च नगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरेका छौं ।” उनले भने ।
नगर प्रमुख रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरवको रूपमा रहेको बताए । मेडिकल कलेजकै कारण नगरवासीले सहज रूपमा स्वास्थ्य सेवा पाएको, नगरको स्वास्थ्य सुरक्षा र सचेतनामा सुधार आएको उनको दाबी छ ।
‘अन्य स्थानीय सरकारका लागि पनि उदाहरण’
नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले गोकर्णेश्वर नगरपालिकाले अघि सारेको स्वास्थ्यसम्बन्धी योजना अन्य स्थानीय सरकारका लागि समेत उदाहरणीय रहेको बताए ।
“यो स्किम निकै सराहनीय छ, यसको सिको अन्य नगरपालिकाहरूले पनि गर्नुपर्छ । नेपाल मेडिकल कलेज नगरवासीको सेवाको लागि हरदम तत्पर छ ।” प्रा.डा. अन्सारीले भने ।
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा हरेक नागरिकलाई निःशुल्कभन्दा असफल भएको प्रा.डा. अन्सारीको भनाइ छ । भारतमा गरिब, विपन्न नागरिकका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा सफल हुँदा नेपालमा भने सबैलाई निःशुल्क भनेर बीमा सञ्चालन गर्दा धान्न नसक्ने परिस्थिति बनेको भन्दै प्रा.डा. अन्सारीले नागरिकको स्तर हेरेर बीमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कलेजका पूर्वअध्यक्ष डा. भोला रिजालले आर्थिक रूपमा कमजोर नागरिकलाई उपचारमा राहत पुर्याउने उद्देश्यले सम्झौता गरिएको बताए । “निमुखा जनताले आफ्नो उपचार खर्च व्यहोर्न नसक्ने अवस्था छ । एक लाखसम्मको उपचार खर्च नगरपालिकाले दिँदा उनीहरूलाई ठूलो राहत पुग्छ” उनले भने ।
सञ्चालक समिति सदस्य डा. आनन्दप्रसाद श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यले नागरिकलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास व्यक्त गरे । भने, कलेजका सञ्चालक सदस्य शाहनवाज अन्सारीले नगरपालिका र कलेजबीचको सहकार्यले जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बाटो खुलेको बताए ।
कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नेपाल मेडिकल कलेजले गोकर्णेश्वर नगरपालिकासँग विगत तीन–चार वर्षदेखि नगरवासीलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्दै आएको जानकारी दिइन् । यस वर्ष सम्झौता गर्न केही ढिलाइ भए पनि नगरवासीलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउने व्यवस्था महत्वपूर्ण उपलब्धि भएको उनको जिकिर छ ।
“तीन–चार वर्षदेखि हामीले नगरपालिकासँग सहकार्य गरिरहेका छौं । यो वर्ष केही ढिलो भएको मात्र हो । नगरवासीलाई यस्तो सुविधा उपलब्ध गराउनु निकै ठूलो उपलब्धि हो । यसलाई निरन्तर अगाडि बढाउँदै लैजान्छौं ।” नगरवासीको स्वास्थ्योपचारमा कलेजले कुनै कसर बाँकी नराख्ने भन्दै उनले भनिन् ।
नगर उपप्रमुख सान्नानी लामाले कलेज गोकर्णेश्वर नगरपालिकाको गहना भएको बताइन् । नगरवासीको स्वास्थ्य सेवा र दक्ष चिकित्सक उत्पादनमा कलेजले खेलेको भूमिकाको उनले मुक्तकण्ठले प्रशंसा गरिन् ।
नगरपालिका र अस्पतालबीचको यो सहकार्यले आर्थिक अवस्था कमजोर भएका गोकर्णेश्वरवासीलाई उपचारमा पहुँच बढाउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा स्थानीय नागरिकको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारी, निर्देशक डा. राजेश किशोर श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. निलमणि उपाध्याय लगायत फ्याकल्टी र नगरवासी सेवाग्राहीहरूको समेत उपस्थिति रहेको थियो ।





















