पाँच निकायमा पच्चिस जना नियुक्त
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका विभिन्न पाँच वटा निकायका रिक्त पदमा २५ जना पदाधिकारी नियुुक्त भएका छन् ।
मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार सङ्ग्रहालय विकास समिति र हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमा सदस्यसचिव, अध्यक्ष, कोषाध्यक्ष तथा सदस्य गरी २५ जना पदाधिकारीलाई नियुक्त गरिएको हो ।
जस अनुसार मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा मीनाकुमारी श्रेष्ठ तथा पाँच जना सदस्यमा केदारमान भण्डारी, गङ्गासागर बानियाँ, सङ्गीताकुमारी राम, रूपा शाही बाँस्तोला र रामशोभित नायकलाई नियुक्त गरेको छ ।
त्यस्तै गरी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई तथा चार जना सदस्यमा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुङ्गेल र नेत्रप्रसाद अधिकारी नियुक्त हुनुभएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त हुनुभएको छ भने पाँच जना सदस्यमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल नियुक्त हुनुभएको छ ।
पाटन दरबार सङ्ग्रहालय विकास समितिको तीन जना सदस्यमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जन नियुकत हुनुभएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको चार जना सदस्यमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मि शाक्य, मीरा महर्जन र वीरेन्द्रबहादुर मल्ल नियुक्त हुनुभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमातहतका १७ वटा निकायमा पदाधिकारी नियुक्तिका लागि वैशाख ३१ गते जारी गरिएको सार्वजनिक आह्वानमा पशुपति क्षेत्र विकास कोषमा ४७६, बौद्धनाथ क्षेत्र विकास समितिमा १३४, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमा एक सय, पाटन दरबार सङ्ग्रहालय विकास समितिमा ९९ तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४६ जनाले आवेदन दिएका थिए ।






















