जुलाई १ देखि किया गाडीको मूल्य २ प्रतिशतसम्म बढ्ने
किया इन्डियाले आफ्ना सवारी साधनको मूल्य बढाउने घोषणा गरेको छ । कम्पनीका अनुसार आगामी जुलाई १ तारिखदेखि लागू हुने गरी विभिन्न मोडलका गाडीहरूको मूल्यमा २ प्रतिशतसम्म वृद्धि गर्न लागिएको हो ।
कम्पनीले उत्पादन लागतमा भएको निरन्तर वृद्धि र समग्र सञ्चालन खर्च बढेका कारण मूल्य समायोजन गर्नुपरेको स्पष्ट पारेको छ ।
किया इन्डियाका अनुसार मूल्य वृद्धिको दर गाडीको मोडेल र त्यसका भेरियन्टमा निर्भर हुनेछ । मूल्य बढेपनि ग्राहकहरूले पाउने गाडीको गुणस्तर र समग्र मूल्य प्रस्तावमा कुनै सम्झौता नगरिने र त्यसलाई यथावत् राखिने कम्पनीले दाबी गरेको छ ।
कियाले हाल भारतमा आठवटा फरक–फरक मोडलका गाडीहरू बिक्री गर्दै आएको छ । जसमा, ईभी६ र ईभी९ जस्ता अत्याधुनिक इलेक्ट्रिक एसयूभ सामेल छन् भने आईसीई सेग्मेन्टमा कार्निभल, सोनेट, साइरोस, सेल्टोस र क्यारेन्स क्लाभिस जस्ता चर्चित मोडल उपलब्ध छन् ।


























