कम्पनीका सञ्चालकलाई ‘फाइनान्सियल साउन्डनेस’ सम्बन्धी विवरण पेश गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई कडाई गर्ने भएको छ ।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज नयाँ निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको सञ्चालन, व्यवस्थापन गर्नेहरुको वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण पेश गर्न निर्देशन दिएको छ ।
संस्थाको सञ्चालन, व्यवस्थापन वा काम कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारीको वित्तीय गैरकानूनी आर्जन वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आपराधिक संलग्नता सम्बन्धमा स्पष्टरुपमा उल्लेख गर्नु पर्ने भएको हो ।
त्यस्ता कम्पनीको चुक्ता पूँजीको पाँच प्रतिशत वा पचास लाख रुपियाँभन्दा बढीको शेयर वा पूँजी लगानी वा खरिद गर्दा, सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति मनोनयन गर्दा र पांच प्रतिशत वा पच्चिस लाख रुपियाँ भन्दा बढीको शेयर वा पूँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा आवश्यक विवरण राष्ट्र बैंकको सम्बन्धित विभागमा बुझाउनु पर्ने व्यवस्था गरिएको हो ।
आवश्यक पर्ने विवरणः
(१) सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालनाको स्वघोषणा ।
(२) सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण,वास्तविक छनी तथा हिताधिकारीको विवरण ।
(३) नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको घोषणा र भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था ।
(४) कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहेको लिखित रूपमा जानकारी भएको भए सोको विवरण ।
(५) अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेश बमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको विवरण ।
(६) नेपाल वा विदेशमा कर्जा सम्बन्धी कालोसूचीमा परे वा नपरेको विवरण ।
(७) नेपाल र विदेशमा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण ।
(८) सम्बन्धित व्यक्ति नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको घोषणा ।
(९) विगतमा संलग्न भएको कार्य, संस्था,प्राप्त भएको जिम्मेदारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण ।
(१०) वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण ।





























