हिमालयन रिइन्स्योरेन्स प्रकरणः ५६ जना प्रतिवादीको बैंक खाता रोक्का
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा भएको अनियमितता तथा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) प्रकरणमा ५६ प्रतिवादीको बैंक खाता रोक्का गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यो प्रकरणमा थप अनुसन्धान अघि बढाउँदै प्रमुख प्रतिवादी व्यवसायी शेखर गोल्छासहितको खाता रोक्का गरेको हो ।
सीआइबीका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले अनुसन्धानको दायरामा रहेका प्रतिवादीहरुको अनुसन्धानको क्रममा खाता रोक्का गरेको स्पष्ट पारे ।
प्रहरीका उच्च अधिकारीका अनुसार धितोपत्र बोर्डको सिफारिस, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको रिपोर्ट र प्रारम्भिक जाँचबुझका आधारमा ५६ जनाको नाममा विभिन्न बैंकमा रहेको खाता रोक्का गरिएको हो । यो कदमले उक्त प्रकरणमा संलग्न व्यक्तिहरूको आर्थिक कारोबारलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउने प्रहरीको तयारी रहेको देखिएको छ ।
सीआईबीले गत वैशाख १० मा हिमालयन रिइन्स्योरेन्सका तत्कालिन अध्यक्ष शेखर गोल्छालाई शेखर गोल्छालाई काठमाडौंको नारायण चौरबाट पक्राउ गरिएको थियो ।
उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन् । हिमालयन रिइन्स्योरेन्सको तत्कालीन अध्यक्षको हैसियतमा उनले इन्साइडर ट्रेडिङ र धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ (१) र ९८ बमोजिम कसुर गरेको प्रारम्भिक प्रमाण फेला परेको सीआईबीले जनाएको छ ।
यो प्रकरणमा पक्राउ पर्ने गोल्छासहितका अन्य प्रमुख व्यक्तिहरूमा दीपक भट्ट, सुलभ अग्रवाल, शुभी अग्रवाल लगायत छन् । राजबहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ता, सन्दीप चाचान लगायत प्रतिवादीको रुपमा रहेका छन् । ५६ जनामा व्यवसायी, कम्पनी सञ्चालक, स्टक ब्रोकर, बीमा कम्पनीका पदाधिकारी र उनीहरूका निकट सहयोगीहरू समावेश छन् ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट झण्डै २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको धितोपत्र बोर्डको जाँचबुझ समितिको प्रतिवेदनले खुलासा गरेको थियो । दीपेश ताम्राकार नेतृत्वको २७ पृष्ठ लामो प्रतिवेदन र रुपेश केसी नेतृत्वको ६६ पृष्ठ लामो प्रतिवेदनले यो ठगीको जालो उजागर गरेको हो ।
प्रतिवेदन अनुसार हिमालयन रिइन्स्योरेन्सको फन्डलाई विभिन्न कम्पनीको सेयरमा चलखेल गर्न प्रयोग गरिएको थियो । शेखर गोल्छा अध्यक्ष र रोहित गुप्ता सञ्चालक रहेका बेला कम्पनीको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ दीपक भट्टको नाममा सेयर खरिदमा लगानी गरिएको थियो ।
यसैगरी हिमालयन सेक्युरिटिज बैंकरको २२ करोड १९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३७ करोड, एचएलआई लार्ज क्याप फन्डको २५ करोड १४ लाख र नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ ।
यो प्रकरणमा शेखर गोल्छा (पूर्व अध्यक्ष, हिमालयन रिइन्स्योरेन्स), दीपक भट्ट (मुख्य सेयरधनी), सुलभ अग्रवाल, शुभी अग्रवाल (सुलभकी श्रीमती), राजबहादुर शाह (जावलाखेल डिस्टिलरी), ऋषिराज मोर (क्रेष्ट माइक्रोलाइफ पूर्व अध्यक्ष), रोहित गुप्ता (रमेश कर्प), सन्दीप चाचान (भृकुटी स्टक ब्रोकिङ), उदयकुमार निरौला, दीपेन्द्रकुमार मिश्र, पृथ्वीराज थापा प्रमुख आरोपीका रुपमा रहेका छन् ।
यसबाहेक हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीका ४५ जना सञ्चालक, कर्मचारी र सहयोगीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टलाई यसअघि नै पक्राउ गरिसकेको छ । उनको नाममा ५ अर्बभन्दा बढीको कारोबार देखिएको विभागीय स्रोतले बताएको छ ।
प्रहरी स्रोतका अनुसार गोल्छाले हिमालयन रिइन्स्योरेन्सबाट राजीनामा दिए पनि उनीमाथिको अनुसन्धान जारी रहेको थियो । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रभावित पारेर ‘व्लाकमेलिङ’ गरेको आरोप पनि छ । यसअघि पूर्व गृहमन्त्री सुधन गुरुङले यो प्रकरणमा कडा अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
धितोपत्र बोर्डले गठन गरेको समितिले दीपक भट्ट र सन्दीप चाचानलाई मुख्य पात्र ठहर गरेको छ । उनीहरूले सस्तोमा सेयर किनेपछि मूल्य बढाएर बीमा कम्पनीलाई बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यो जालोमा हिमालयन रिइन्स्योरेन्सको फन्ड दुरुपयोग गरिएको स्पष्ट छ ।
यो प्रकरणले नेपालको बीमा क्षेत्र, धितोपत्र बजार र निजी क्षेत्रको लगानीलाई ठूलो धक्का दिएको छ । हिमालयन रिइन्स्योरेन्समा सबैभन्दा ठूलो लगानीकर्ता रहेका दीपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धान सुरु भएपछि शेखर गोल्छासहितका सञ्चालकहरूले राजीनामा दिएका थिए । अहिले उदयकुमार निरौला अध्यक्ष बनेका छन् भने नयाँ सञ्चालकहरू मनोनीत भएका छन् ।
५६ जनाको बैंक खाता रोक्काले उनीहरूको आर्थिक गतिविधि पूर्ण रूपमा प्रभावित भएको छ । प्रहरीले यो प्रकरणलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडेर हेरेको छ । कुल ६ अर्ब रुपैयाँ बराबरको संदिग्ध कारोबार भएको अनुमान छ जसमध्ये ठूलो हिस्सा हिमालयन रिइन्स्योरेन्ससँग जोडिएको छ ।
अनुसन्धानले नेपालको बीमा, होटल र धितोपत्र क्षेत्रमा राजनीतिक–व्यापारिक सम्बन्धको गहिरो जालो रहेको देखाएको छ । २०७८ सालदेखि नै जगदम्बा स्टिलबाट दीपक भट्टको खातामा संदिग्ध रकम गएको थियो । विभिन्न समयमा फाइल थन्किँदै आए पनि हालैको अनुसन्धानले नयाँ गति लिएको छ ।
पूर्वअर्थमन्त्री रामेश्वर खनालको पहलमा विभागलाई पुनः सक्रिय बनाइएपछि यो फाइल अघि बढेको बताइन्छ । अब केही सातामै मुद्दा अदालतमा दायर हुने तयारी छ ।
यो प्रकरणले निजी क्षेत्रको लगानीलाई धराशयी बनाउने वा नबनाउने भन्ने बहस पनि चर्किएको छ । तर प्रहरी र अनुसन्धान निकायले कानुनअनुसार कारबाही अघि बढाउने अडान लिएका छन् ।
बैंक खाता रोक्काले उनीहरूको दैनिक कारोबार प्रभावित हुनुका साथै ऋण, चेक र अन्य आर्थिक क्रियाकलाप ठप्प हुने अवस्था छ ।
सीआईबीले यो अनुसन्धानलाई अन्तिम चरणमा पु¥याएको छ । थप प्रमाण संकलन, बयान र डकुमेन्ट विश्लेषण भइरहेको जनाएको छ । अदालतले अनुमति दिएपछि थप पक्राउ हुन सक्ने सम्भावना छ ।


























