stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्जीवन बिमा व्यवसाय उत्साहजनक, बागमतीको वर्चस्व, मोटर अग्रपंक्तिमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको निर्जीवन बिमा क्षेत्रले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिसम्ममा उल्लेखनीय प्रगति हासिल गरेको देखिएको छ ।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार तेस्रो त्रैमासको अवधिमा सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनी तथा लघु बिमकहरूबाट कुल ३७ अर्ब २६ करोड ८१ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ ।

प्राधिकरणका अनुसार चैत मसान्तसम्म कुल २५ लाख ४४ हजार ४ सय ९० वटा बिमालेख जारी भएका छन् । चैत महिनामा मात्रै ४ अर्ब ७३ करोड ९८ लाख रुपैयाँबराबरको बिमाशुल्क संकलन भएको छ ।

निर्जीवन बिमा बजारमा कम्पनीहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ र यस प्रतिस्पर्धामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आºनो अग्रता कायम राख्न सफल भएको छ । सो कम्पनीले चैत मसान्तसम्म ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ बिमाशुल्क संकलन गर्दै पहिलो स्थान सुरक्षित गरेको छ । कम्पनीले बिमालेखको संख्यामा समेत उल्लेखनीय प्रगति गरेको छ ।

त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८३ करोड २३ लाख रुपैयाँ संकलन गर्दै दोस्रो स्थान हासिल गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७४ करोड ३० लाख रुपैयाँ बिमाशुल्क आर्जन गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ ।

अन्य प्रमुख निर्जीवन बिमा कम्पनीहरूले पनि उल्लेखनीय योगदान दिएका छन् र समग्र बजारलाई प्रतिस्पर्धात्मक तथा गतिशील बनाएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स तथा दि ओरिएन्टल इन्स्योरेन्सले अर्बौं रुपैयाँबराबरको व्यवसाय गर्दै बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीले भने तुलनात्मक रूपमा कम प्रदर्शन गर्दै १ अर्ब १४ करोड ९७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ, जसले निजी क्षेत्रको तुलनामा यसको प्रतिस्पर्धात्मक क्षमता कमजोर देखिएको छ । सबैभन्दा कम व्यवसाय गर्ने कम्पनीका रूपमा नेसनल इन्स्योरेन्स रहेको छ । सो कम्पनीले ९८ करोड १२ लाख रुपैयाँ मात्र संकलन गरेको छ ।

बिमा व्यवसायको भौगोलिक वितरण विश्लेषण गर्दा बागमती प्रदेशको वर्चस्व छ । कुल बिमाशुल्क संकलनमध्ये झन्डै ६८ प्रतिशत हिस्सा बागमती प्रदेशले मात्रै ओगटेको छ, जहाँबाट २५ अर्ब ५९ करोड २७ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ । यस प्रदेशमा ११ लाख १६ हजारभन्दा बढी बिमालेख जारी भएका छन् ।
संघीय राजधानी काठमाडौं यसै प्रदेशमा पर्ने भएकाले आर्थिक, औद्योगिक तथा व्यापारिक गतिविधि केन्द्रित हुनु नै बिमा व्यवसायको उच्च संकलनको मुख्य कारण मानिएको छ ।

अन्य प्रदेशहरूको अवस्था तुलनात्मक रूपमा कमजोर छ । कोशी प्रदेशबाट ३ अर्ब १४ करोड ८४ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट ३ अर्ब ११ करोड ३३ लाख रुपैयाँ, मधेस प्रदेशबाट २ अर्ब ३४ करोड २४ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ८८ करोड ६८ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट मात्र ३४ करोड ८८ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ । कर्णाली प्रदेशमा बिमाको पहुँच अत्यन्त न्यून छ ।

बिमाका विभिन्न विधाहरूको विश्लेषण गर्दा मोटर बिमा सबैभन्दा अग्रस्थानमा छ । मोटर बिमाबाट मात्रै ११ अर्ब ५० करोड ७१ लाख रुपैयाँ संकलन भएको छ । यसको प्रमुख कारण सवारी साधनको संख्या वृद्धि, अनिवार्य तेस्रो पक्ष बिमा व्यवस्था र सडक दुर्घटनाको जोखिम उच्च हुनु हो ।

सम्पत्ति बिमा दोस्रो ठूलो विधाका रूपमा उदाएको छ, जसबाट ८ अर्ब ६५ करोड ७ लाख रुपैयाँ संकलन भएको छ । सहरीकरण, भवन निर्माणको वृद्धि तथा प्राकृतिक जोखिमप्रति सचेतना बढ्नु यसको मुख्य कारण रहेको बताइएको छ ।

त्यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमाबाट ६ अर्ब ९१ करोड ७८ लाख रुपैयाँ, विविध बिमाबाट ३ अर्ब ९२ करोड १७ लाख रुपैयाँ, सामुद्रिक बिमाबाट २ अर्ब २७ करोड ९४ लाख रुपैयाँ, हवाई बिमाबाट १ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ र कृषि तथा बाली बिमाबाट १ अर्ब २४ करोड ८० लाख रुपैयाँ संकलन भएको छ । लघु बिमा क्षेत्रले पनि बिस्तारै गति लिँदै गएको छ ।

चैत मसान्तसम्म लघु बिमाबाट ९९ करोड ८२ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ । यसले निम्न आय वर्ग र ग्रामीण समुदायमा बिमा पहुँच विस्तार हुँदै गएको देखिएको छ । नेपाल माइक्रो, प्रोटेक्टिभ, स्टार र ट्रस्ट माइक्रो इन्स्योरेन्स जस्ता संस्थाहरूले यस क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

यद्यपि, लघु बिमाको पहुँच अझै सीमित रहेको छ र बागमती प्रदेशमा यसको उच्च हिस्सा हुँदा कर्णाली जस्ता प्रदेशमा अत्यन्त न्यून संकलन भएको छ । गत चैतमा ३ लाख ७६ हजारभन्दा बढी नयाँ बिमालेख जारी भएका छन् ।

prabhu mahalaxmi
kumari