अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने नेपाल भ्रमणका क्रममा आज (वैशाख ७) काठमाडौं आउँदै छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी पहिलो उच्चस्तरीय कूटनीतिज्ञ हुन् । काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार, सहायक विदेशमन्त्री कपुर वैशाख ९ गते फर्कने कार्यक्रम छ।
नेपाल भ्रमणमा रहँदा कपुरले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन् । “भ्रमण परिचयात्मक भएका कारण प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाटका लागि समय मागिएको छैन,” दूतावास स्रोतले भन्यो ।
स्रोतका अनुसार, अमेरिकी सहायक विदेशमन्त्रीले मंगलबार बिहान साढे नौ बजे परराष्ट्रमन्त्री खनाल र बिहान साढे १० बजे अर्थमन्त्री वाग्लेसँग सम्बन्धित मन्त्रालयमा भेटवार्ता गर्नेछन् ।
भेटवार्तामा एमसीसीको कार्यान्वयनलगायत नेपाल– अमेरिका द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने स्रोतले जनाएको छ । नेपाल भ्रमणमा रहँदा अमेरिकी सहायक विदेशमन्त्रीले पाटन दरबार स्क्वायरको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
दूतावास स्रोतका अनुसार, २०२५ अक्टोबरमा सहायक विदेशमन्त्री नियुक्त भएका कपुर डिसेम्बरमा नेपाल आउन लागेका थिए । चुनावको मिति नजिकिएका कारण भ्रमण प्रतिनिधिसभा सदस्य निर्वाचनपछि सारिएको थियो । त्यसपछि उनी आज नेपाल आउन लागेका हुन् ।
“यो अनौपचारिक परिचयात्मक भ्रमण भएकाले भ्रमणको औपचारिक घोषणा नगरिएको हो । मन्त्री नियुक्त भएपछि आफ्नो क्षेत्रभित्र पर्ने देशको भ्रमण गर्ने प्रचलन छ । सोहीअनुसार, अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउन लाग्नुभएको हो,” दूतावास स्रोतले भन्यो ।























