नेपाल राष्ट्र बैंकले विदेशी विनिमय नीतिमा परिमार्जन, आयात र सटही सुविधा सहज
An employee of the Korea Exchange Bank counts one hundred dollar notes at the bank's headquarters in Seoul February 24, 2009. Asian shares fell on Tuesday, with Japan's Nikkei flirting with a 26-year low, as concerns grew about the global financial system, while emerging currencies such as the South Korean won extended their recent sell-off. REUTERS/Jo Yong-Hak (SOUTH KOREA) - RTXC0GA
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१’ मा संशोधन गर्दै आयात–निर्यात र विदेशी मुद्रा सटही सुविधामा नयाँ र सरलीकृत व्यवस्थाहरू लागू गरेको छ । विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको यो परिपत्रले विशेषगरी प्रतीतपत्र व्यवस्थापन र शैक्षिक शुल्क भुक्तानीमा ठूलो परिवर्तन ल्याएको छ ।
नयाँ व्यवस्था अनुसार आयात प्रतीतपत्र खोल्दा भर्नुपर्ने विदेशी विनिमय नियन्त्रण फारामको संख्या ३ बाट घटाएर २ कायम गरिएको छ । अब यस्तो फारामको जानकारी अनिवार्य रूपमा विद्युतीय माध्यमबाट राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्नेछ ।
यस्तै, चोभार सुक्खा बन्दरगाहको प्रयोगलाई प्रवर्धन गर्न जुनसुकै भन्सार विन्दुबाट पैठारी गर्ने गरी जारी भइसकेका प्रतीतपत्रका मालवस्तुहरू पैठारीकर्ताको माग बमोजिम चोभारबाटै ल्याउन सकिने गरी भन्सार विन्दु परिवर्तन गर्ने सुविधा दिइएको छ । ड्राफ्ट वा टी.टी. बाट हुने आयातका लागि पनि चोभार बन्दरगाह प्रयोग गर्न पाइनेछ । आयातमा राखिने धरौटी रकममा पनि उल्लेख्य सहुलियत प्रदान गरिएको छ ।
विद्युतीय भुक्तानी प्रणाली लागू भएका भन्सार कार्यालयहरू मार्फत हुने आयातमा उद्योगका लागि १ प्रतिशत र व्यापारिक संस्थाका लागि ३ प्रतिशत मात्र धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ, जुन यसअघि क्रमशः २ र १० प्रतिशत थियो।
विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी नेपालमा सञ्चालित शिक्षण संस्थाहरूका लागि विदेशी मुद्रा सटहीको सीमामा भारी वृद्धि गरिएको छ ।
यसअघि वार्षिक अमेरिकी डलर २५ हजारको सीमा रहेकोमा अब त्यस्ता संस्थाहरूले सम्बन्धन र परीक्षा शुल्क भुक्तानीका लागि वार्षिक अमेरिकी डलर ५ लाख वा सो बराबरको विदेशी मुद्रा सटही सुविधा पाउनेछन् । यसका लागि शिक्षा मन्त्रालयको सिफारिस र सम्बन्धित विश्वविद्यालयसँगको सम्झौता लगायतका कागजात आवश्यक पर्नेछ ।
यसैगरी, हवाई सेवा प्रदायक कम्पनीहरूलाई इन्जिन वा पार्टपूर्जा मर्मतका लागि विदेश पठाउँदा अमेरिकी डलर १ लाखसम्मको अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्था आफैँले पठाउन सक्ने सुविधा दिइएको छ ।
नेपाली नागरिकले विदेशमा आर्जन गरेको वा भ्रमणबाट बचत भएको अमेरिकी डलर १,५०० सम्मको नगद विदेशी मुद्रा भविष्यमा प्रयोग गर्ने प्रयोजनका लागि आफूसँगै राख्न पाउने व्यवस्थालाई राष्ट्र बैंकले यथावत् राखेको छ।

























