stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कम्बोडियाबाट तीन नेपालीको उद्धार, अनलाइन ठगीमा नफस्न दूतावासको आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका तथा त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका तीन नेपालीको उद्धार गरिएको छ।

नेपाली राजदूतावास बैंककका अनुसार कम्बोडिया सरकारको सहयोग र दूतावासको पहलमा उद्धार गरिएका ती नेपालीहरूलाई गैरआवासीय नेपाली संघ ९एनआरएनए० कम्बोडियाको सहजीकरणमा चैत १९ गते कम्बोडियाबाट नेपाल पठाइएको हो। उनीहरू चैत २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

दूतावासले कठिन परिस्थितिमा परेका तथा अलपत्र रहेका अन्य नेपालीलाई पनि नेपाल फर्काउने पहल जारी रहेको जनाएको छ।

दूतावासका अनुसार कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको तथा बिना भिसा वा भिसा अवधि नाघेर बसिरहेको जानकारी प्राप्त भएको छ। यस्तो अवस्थामा रहेका नेपालीलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ।

दूतावासले स्क्यामिङ केन्द्रमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराएको भन्ने गुनासो धेरै आएको जनाएको छ। यस्तो अवस्थामा नेपाल फर्किनका लागि दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गरिएको छ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार नेपालीको आवागमन पछिल्ला वर्षमा तीव्र रूपमा बढेको छ। सन् २०२१ मा १०१ नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा २०२२ मा १,९७७, २०२३ मा २,९४०, २०२४ मा ६,४०४ र २०२५ मा ९,६७६ नेपाली पुगेको देखिएको दूतावासले जनाएको छ।

दूतावासले नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायत मुलुकमा भ्रमणको बहानामा रोजगारीका लागि नजान पुनः आग्रह गरेको छ।

साथै, आमसञ्चार माध्यम र नागरिक समाजलाई पनि यस्तो सन्देश व्यापक रूपमा प्रवाह गरी सहयोग गर्न नेपाली राजदूतावास बैंककले अनुरोध गरेको छ।

prabhu mahalaxmi
kumari