stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महासंघभित्र गुटगत राजनीति नगर्न चन्द्र ढकालको आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले संगठनभित्र गुटगत अभ्यासबाट टाढा रहन भावी नेतृत्वलाई सचेत गराएका छन्। आगामी नेतृत्व चयन प्रक्रियालाई प्रभावित पार्ने कुनै पनि प्रकारको समूहगत गतिविधि उपयुक्त नहुने उनको धारणा छ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहद्वारा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। सो अवसरमा उनले आगामी नेतृत्वलाई तटस्थ भूमिकामा रहन सुझाव दिएका थिए।

महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा पदोन्नति हुने प्रावधान छ, जसअनुसार अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि नेतृत्वमा पुग्ने तय भइसकेको छ। यही सन्दर्भमा वर्तमान अध्यक्ष ढकालले पर्दापछाडि कुनै समूह निर्माण नगर्न र चुनावी गतिविधिमा सक्रिय भूमिका नलिन श्रेष्ठलाई संकेत गरेका छन्। उनका अनुसार यस्तो अभ्यास विधानको मूल मर्मविपरीत हुन्छ।

ढकालले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था किन लागू गरिएको थियो भन्ने सन्दर्भ स्मरण गराउँदै नेतृत्व हस्तान्तरणलाई सहज, विवादरहित र स्थिर बनाउने उद्देश्य रहेको बताए। तर व्यवहारमा उक्त व्यवस्थाको सही प्रयोग नभइरहेको संकेत पनि उनले गरेका छन्।

हालसम्म आफूलाई सर्वसम्मतिमा विश्वास गर्ने र संस्थागत अभिभावकको भूमिकामा प्रस्तुत गर्दै आएका उनले यदि भावी नेतृत्वले गुटगत अभ्यास जारी राखे आफू पनि निष्क्रिय नबस्ने चेतावनी दिएका छन्।

उनले एक पक्षीय नेतृत्वभन्दा समावेशी भूमिका निर्वाह गर्न आग्रह गर्दै अन्यथा आफूले पनि अर्को धारलाई समर्थन गर्न बाध्य हुने संकेत गरेका छन्।

यस परिस्थितिले महासंघभित्रको निर्वाचन केवल सदस्यबीचको प्रतिस्पर्धा मात्र नभई वर्तमान र भावी नेतृत्वबीचको प्रतिष्ठासँग जोडिन सक्ने देखिएको छ। आफ्नो कार्यकालमा महासंघले अघि सारेका प्रमुख पाँच एजेन्डा सफलतापूर्वक कार्यान्वयन भएको दाबी गर्दै ढकालले आगामी नेतृत्वका लागि नयाँ मुद्दा पहिचान गर्नु चुनौतीपूर्ण हुन सक्ने उल्लेख गरे।

विशेष गरी सरकारले अघि बढाएको ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’लाई उनले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। यस्तो अवस्थामा भावी नेतृत्वले नयाँ प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

prabhu mahalaxmi
kumari