stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा : ६ हजारभन्दा बढी प्रहरी परिचालन गरियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। वडादशैं २०८२ को घटस्थापनासँगै चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीको काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा व्यापक प्रहरी परिचालनका साथ सुरक्षा व्यवस्था कडा पारिएको छ । ट्राफिक व्यवस्थापनलाई पनि चुस्त र प्रभावकारी बनाउन थालिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी दान बहादुर कार्कीका अनुसार उपत्यकामा मात्रै ६ हजार एक सय ६ जना सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको छ। सुरक्षाकर्मीहरूलाई विभिन्न क्लस्टरमा विभाजन गरी निश्चित जिम्मेवारी सहित परिचालित गरिएको छ।

दशैं, तिहार तथा छठ पर्वजस्ता अवसरहरूमा विगतमा चोरी, डकैती, लुटपाटलगायत आपराधिक गतिविधिहरूमा वृद्धि हुने गरेका कारण यस वर्ष थप सतर्कताका साथ रणनीति तयार पारिएको छ। विशेषतः चाडपर्व मनाउन गाउँ जाने क्रमसँगै उपत्यकामा डेरा तथा घरहरू सुनसान हुने हुँदा त्यसको फाइदा उठाई आपराधिक क्रियाकलापहरू हुन सक्ने आशंका प्रहरीको छ।

जेनजीको आन्दोलनका क्रममा जेल तोडेर भागेका ८ हजार कैदी बन्दीहरू अझै जेलमा नफर्किएको र भदौ २४ गतेको अराजक र विध्वंसात्मक आन्दोलनका क्रममा एक हजार भन्दा बढी हातहतियार,हजारौं गोलीगठ्ठा र प्रहरी पोशाकहरू लुटिएकाले ती हातहतियार र पोशाकको दुरुपयोग गरि अपराधिहरूले चोरी, डकैती, लुटपाट गर्ने सम्भावना रहेकाले पनि यसपालीको दशैं,तिहार र छठपर्वका अवसरमा अपराधका घटना बढन सक्ने हुँदा प्रहरी प्रशासन निकै सजगताकासाथ परिचालन भएको छ।

उक्त सम्भावनालाई ध्यानमा राखी प्रहरीले पैदल र साइकल गस्ती, नाकाहरूमा डग स्निफिङ, सादा पोशाकका प्रहरीहरूको परिचालन, सीआरभी र क्यूआरटी युनिटहरूको तयारी अवस्थामा परिचालन लगायत विविध उपायहरू अवलम्बन गरेको छ।

स्थानीय जनता, विभिन्न सामाजिक संघ– संस्था,पालिका,व्यवसायिक संघ संस्थाहरूको सहयोगमा तोडफोड र आगजनी भएका प्रहरी चौकी,प्रभाग,वृत्त र परिसरको पुनर्निर्माण गरि सञ्चालन गरिएका छन। साथै, भीडभाड हुने व्यापारिक क्षेत्र, सपिङ मल, बैंक तथा वित्तीय संस्थामा समेत निगरानीका लागि विशेष प्रहरी परिचालन गरिएको जनाइएको छ।

यात्रुहरूको सुविधाका लागि उपत्यकाबाट बाहिर जाने विभिन्न १७ स्थानमा ट्राफिक प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना गरिएको छ भने टिकटको कालोबजारी, अभाव वा महँगीजस्ता समस्याको समाधान सोही सहायता केन्द्र मार्फत गरिने व्यवस्था मिलाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ। त्यस्तै, तीनवटै जिल्लाका ७८ स्थानमा थप यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।

ड्रोनमार्फत पनि प्रहरीले निगरानी तथा सर्भिलेन्सको व्यवस्था मिलाएको छ,साथै सिसिटिभी क्यामेरा प्रयोगद्वारा पनि निगरानी प्रणालीलाई थप प्रभावकारी बनाइएको जनाइएको छ। कुनै पनि आकस्मिक घटनाको स्थिति आएमा ५ देखि १० मिनेटभित्र प्रहरी टोली पुग्ने व्यवस्था मिलाइएको समेत जानकारी गराएको छ।

यस पटक कारागार र हिरासतबाट कैदी तथा थुनुवा फरार भइरहेका घटनाहरूको पृष्ठभूमिमा प्रहरीले अझ उच्च सतर्कता अपनाएको छ। सम्भावित अपराधका रूपमा लुटपाट, चोरी, डकैती, सवारी दुर्घटना, तस्करी, मदिरा सेवनबाट हुने झैझगडा, ट्राफिक उल्लंघन, जुवातास, कालोबजारी, कृत्रिम अभाव सिर्जना, हिट एन्ड रन, ड्रिंक एन्ड ड्राइभ, ठगी, चिठ्ठाको लोभमा पर्ने घटनाहरू लगायत थुप्रै विषयहरूलाई लक्षित गरि कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

यी सम्भावित जोखिमहरू न्यूनीकरण गर्न उपत्यकाका १८ वटै वृत्तहरूमा डिएसपीको कमान्डमा विशेष टोली गठन गरिएको छ। लङ रेन्ज तथा सर्ट रेन्ज गस्ती, मोबाइल गस्ती, क्यूआरटी टोलीको तयारी, नाकामा एम्बुसिङ चेकिङ, सिल एन्ड सर्च, कर्डन सर्च लगायतका उपायहरू समेत अपनाइएको एआईजी कार्कीले जानकारी दिएका छन।

उपत्यकावासी सबैलाई उच्च सतर्कता अपनाउन घर र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा सहायता कक्षमा जानकारी गराउन अनुरोध समेत गरिएको छ।

prabhu mahalaxmi
kumari