stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण तथा वितरण लाइन मर्मतमा सहजीकरण गरिदिन आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सुरक्षा संवेदनशीलताका कारण नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण तथा वितरण लाइन मर्मत गर्न नसकेको भन्दै आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ ।

प्राधिकरणले वर्तमान कठिन परिस्थितिका कारण क्षतिग्रस्त संरचनाको मर्मत गरी विद्युत् सेवा सुचारु गर्न कठिनाइ भइरहेको भन्दै सहयोग तथा सहजीकरणका लागि सम्बद्ध सबै पक्षसँग बुधबार सार्वजनिक सूचनामार्फत आह्वान गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली व्यवस्थापन विभाग प्रमुख चन्दनकुमार घोषका अनुसार तीन प्रसारण लाइनमा आएको प्राविधिक समस्या समाधान हुन सकेको छैन ।

बुधबार साँझसम्म तीन वटा प्रसारण लाइन मर्मत हुन नसक्दा विद्युत् आपूर्ति प्रभावित भएको छ । उहाँका अनुसार ढल्केबर–चन्द्रनिगाहपुर–पथलैया प्रसारणलाइन, रुपनी–कुसाह र भरतपुर–कावासोती प्रसारण लाइनमा फल्ट आए पनि त्यसको पहिचान तथा मर्मतका लागि प्राधिकरणका प्राविधिक फिल्डमा जान सकेका छैनन् ।

“सुरक्षाको विषम परिस्थितिका कारण हाम्रा कर्मचारी गाडी लिएर जाने अवस्था छैन,” उहाँले भन्नुभयो, “सुरक्षा निकायले पनि तत्काल सहयोग गर्ने अवस्था नरहेको बताएपछि मर्मत हुन सकेको छैन ।”

केही जिल्लाका वितरण लाइनमा पनि समस्या रहेको सूचना आए पनि वितरण केन्द्रले मर्मतमा कर्मचारी खटाउन नसकिएको उहाँले बताउनुभयो ।

खास गरी संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सेवाका सवारीसाधनको आवागमन तथा कार्यालय सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले विद्युत् आपूर्ति अनियमित भए चौबिसै घण्टा सञ्चालनमा रहने प्राधिकरणको हटलाइन टेलिफोन नम्बर ११५ मा सम्पर्क गरी जानकारी गराउन पनि आह्वान गरेको छ ।

prabhu mahalaxmi
kumari