stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भदौ १ पछि दैनिक ७० उडान हुने 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोभिड–१९ सङ्क्रम नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीपछि झण्डै पाँच महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प हुने भयो ।

सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गते अर्थात् १२० दिनपछि बन्दाबन्दी अन्त्य भएको घोषणा गर्यो ।

उक्त अवधिसम्म मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवै उडान सेवामा व्यावसायिक बाहेकका चार्टर्ड र कार्गो उडान भए । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा कम्पनीले बुकिङ खुलाएर उडानको धमाधम तयारी गरिरहेका छन् ।

कोभिडपछिको सुरक्षित हवाई यात्राका लागि सुरक्षा प्रोटोकल पालना गर्दै ती एयरलाइन्सले आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग तथा जोखिम रहित यात्राका लागि अभ्यास उडान समेत गरिसकेका छन् ।

देशकै अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले दुई महिनादेखि सुरक्षित उडानको आवश्यक सबै किसिमको तयारी गरिसकेको छ भने यती एयरलाइन्स, श्री एयरलाइन्स लगायत कम्पनीले पनि आफ्नो तयारीलाई तीव्रता दिएका छन् ।

सुरक्षित उडानको तयारीसँगै ठूला एयरलाइन्सले धमाधम बुकिङ खुलाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि कुन एयरलाइन्सले कति उडान तथा कुन–कुन गन्तव्यमा उडान गर्ने भन्नेर छिट्टै औपचारिक निर्णय गर्दैछ ।

दैनिक ७० उडान

कोभिडको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा एकतिहाई मात्र उडान हुनेछ । आन्तरिक तथा अन्तर्राष्ट्रिय करिब झण्डै ५०० उडान हुने अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक १५ र आन्तरिकतर्फ ४० देखि ५० उडान हुने विमानस्थले जनाएको छ । बन्दाबन्दीमा पनि दैनिक १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको थियो ।

आन्तरिकतर्फ पनि बढीमा १६ उडान भएको विमानस्थलमा भदौ १ गतेपछि दैनिक दुवैतर्फ गरी ७० हाराहारी उडान हुने जनाइएको छ ।

कुन एयरलाइन्सका कति उडान ?

कोभिड सङ्क्रमणको जोखिम कायमै भएकाले अन्तर्राष्ट्रिय विमानस्थलमामा अहिलेलाई एकतिहाइ क्षमतामा मात्रै उडान हुनेछ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार दैनिक औसत १५ सम्म अन्तर्राष्ट्रिय र बढीमा ५० आन्तरिक उडान हुने गरी सरोकारवालासँग छलफल चलिरहेको छ । प्राधिकरण र वायुसेवा सञ्चालकको छलफलले कुन गन्तव्यमा कति उडान गर्नेबारे निर्णय हुनेछ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आन्तरिक उडानको तालिका मोटामोटी टुङ्गिए पनि विदेशी एयरलाइन्सको कति सङ्ख्यामा उडान हुने भन्ने निर्णय भइनसेकेको बताए ।

क्षेत्रीका अनुसार वायुसेवा सञ्चालक र प्राधिकरणबीच बिहीबार भएको सहमतिमा बुद्धएयरलाई १७, यती एयरलाइन्सलाई ११ र श्री एयरलाइन्सलाई आठ उडान गर्न अनुमति दिइएको छ ।

सौर्य, सीता, सिम्रिक र समिट एयरको कति उडान भन्ने टुङ्गो लागेको छैन । विमानस्थलमा एक घण्टामा ३५० यात्रुलाई मात्र उडान गर्ने सहमति भएको छ । थोरै जहाज भएका र दुर्गम क्षेत्रमा उडान गर्दै आएका एयरलाइन्सले कति उडान गर्ने भन्ने विषयमा भने सहमति भइसकेको छैन ।

यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गते बैठक बसी निर्णय हुने प्राधिकरणले जनाएको छ । पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ ।

एयरलाइन्सको गुनासो

दैनिक १०० हाराहारी उडान गर्ने बुद्धएयर र दैतिक औसत ७० उडान गर्ने यति एयरलाइन्सले आफ्नो क्षमता अनुरुप उडान सङ्ख्या कम भएको गुनासो गरेको छ । श्री एयरलाइन्सले भने अहिलेको अवस्थामा निर्धारित उडान सङ्ख्यालाई सामान्य ठानेको छ ।

बुद्ध एयरले आफ्नो जहाज सङ्ख्या अनुरुप उडान सङ्ख्या कम भएको र अहिलेको अवस्थामा धनगढी र सुर्खेत गन्तव्यमा उडान गर्न नसकिने जनाएको छ ।

बुद्ध एयरले सामान्य अवस्थामा दैनिक छ हजारसम्म यात्रु व्यवस्थापन गरेको थियो । कम्पनीले ११ एटिआर सहित १३ जहाज मार्फत आन्तरिक उडान गरिरहेको छ ।

यतिले हाल पाँच एटिआर र पाँच जेटस्ट्रिम सहित १० जहाज मार्फत उडान भर्दै आएको छ । कम्पनीले सामान्य अवस्थामा दैनिक ७० उडान गथ्र्यो । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले सङ्क्रमणसँग जुधेर सुरक्षित र व्यवस्थित उडान गर्नुपर्ने भएकाले अहिलेको उडान सङ्ख्या काफी भएको बताउनुभयो । श्रीएयरले सामान्य अवस्थामा दैनिक २० वटासम्म उडान गर्ने गरेको थियो ।

यस्तो छ भाडादर

झण्डै पाँच महिनापछि हुन लागेको व्यावसायिक उडानका लागि वायुसेवा कम्पनीले गन्तव्य अनुरुप भाडादर निर्धारण गरेका छन् । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेसँगै एयरलाइन्सले टिकट बुकिङ शुरु गरेका छन् ।

बुद्ध एयरका अनुसार भदौ १ गतेदेखि शुरु हुने आन्तरिक उडान तर्फका सबै गन्तव्यका लागि टिकट बिक्री शुरु भइसकेको छ । यती र श्री एयरले पनि छिट्टै बुकिङ खुलाउने तयारी गरेका छन् ।

बुद्ध एयरले काठमाडौँबाट भद्रपुर जानका लागि रु आठ हजार ६३८ कायम गरेको छ । त्यसैगरी भैरहवाका लागि रु पाँच हजार ६५९, भरतपुरका लागि रु तीन हजार ३४२, विराटनगरका लागि रु छ हजार ७१७, धनगढीका लागि रु १० हजार ९६६ भाडा कायम गरेको छ ।

त्यसैगरी जनकपुरका लागि रु तीन हजार ८७१, नेपालगञ्जका लागि रु नौ हजार ३१२, पोखराका लागि रु चार हजार ६३०, सिमराका लागि रु दुई हजार ८५२, सुर्खेतका लागि रु १० हजार २९२ भाडा कायम गरेको छ ।

कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाईसेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिसकेका छन् ।

विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिक तर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । रासस

prabhu mahalaxmi
kumari