citizens life insurance long ad
stcnepal long ad

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका रेग्मी २०७१ मङ्सिरमा उपसचिवमा बढुवा भएका थिए ।

रेग्मीले अकूत सम्पत्ति कमाएको भनी परेको उजुरीमाथि छानबिन गर्दा रु चार करोड ५४ लाख ३३ हजार ६९८ बराबरको सम्पत्ति गैरकानूनी देखिएको छ ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै स्रोत नखुलेको र श्रीमती फम्फादेवी पाण्डे र छोरी सन्ध्या रेग्मीको नाममा रहेको सम्पत्तिसमेत जफतको माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले भूमिसुधार कार्यालय राजविराज सप्तरीमा कार्यरत नायब सुब्बा कृष्णबल्लभ ठाकुरले रु १३ हजार बराबरको घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जग्गा स्रेस्ता कायम गरिदिने बहानामा उनले घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौँका मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बाहरु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेले, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

उनीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई सेवाग्राहीसँग रु आठ लाख ५० हजार बराबरको घुस लिएको अभियोग लागेको छ । त्यस्तै विज्ञापन प्रकाशन बापतको रकममा घुस मागेको अभियोगमा हरिपुर नगरपालिका सर्लाहीका लेखा अधिकृत भूपेन्द्रकुमार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

आयोगका अनुसार सिंहले विज्ञापन प्रकाशन तथा प्रसारण गरेबापत सेवाग्राहीसँग रु चार हजारका दरले घुस मागेको पाइएको छ ।

आयोगले आजै कपिलवस्तुको तितिर्खी गाउँ विकास समितिको जमुवार पुल निर्माण गर्दा गैरकानूनी रुपमा उपभोक्ता समितिलाई दोहोरो सुविधा दिई भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन गाविस सचिव मुहानन्द खनाल र जिल्ला विकास समितिका लेखापाल गोलु अली धुनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार उनीहरुले रु तीन लाख ९२ हजार २२७ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै आयोगले सडक निर्माणमा मापदण्ड विपरीत गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल, इन्जिनीयर सुदीप चौधरी र सबइन्जिनीयर रामकान्त चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी निर्माण व्यवसायीलाई रु १४ लाख ९७ लाख ९७२ बराबरको भुक्तानी दिई हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

यस्तै आयोगले सुन्दर कन्स्ट्रक्शनका प्रोपाइटर राजकुमार यादव, शान्ति निर्माण सेवाका प्रोपाइटर नारायणप्रसाद यादव र भष्मरवि निर्माण सेवामा सञ्चालक श्यामकान्त चौधरीले पनि गैरकानूनी रुपमा रु चार लाख ९९ हजार ६४२ बराबरको भुक्तानी लिएको पाइएको छ ।

यस्तै आयोगले विभिन्न तालीम सम्पन्न गरी चेक भुक्तानी लिइसकेपछि सेवाग्राहीसँग रु ८५ हजार घुस लिएको अभियोगमा जोशीपुर गाउँपालिकाको कार्यालयका सूचना अधिकारी सिद्धराज जोशीलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले हिजो जोशीलाई स्थानीय सिमरी भन्ने स्थानबाट पक्राउ गरेको हो ।

आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिक्तेल खोटाङमा कार्यरत डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठले सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग रु नौ लाख ३४ हजार बराबरको घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगले श्रेष्ठलाई दिक्तेलको मझ्वागढी नगरपालिका–१ मा रहेको बेस क्याम्पबाट घुससहित पक्राउ गरेको हो ।

आयोगले घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीलाई रु ९३ हजार ३०० बराबरको घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

ठेक्कापट्टाको अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि ओलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आज कार्यालय परिसरबााटै पक्राउ गरिएको हो ।

अवैध सुन ल्याएर राजश्व चुहावट गरेको अभियोगमा पक्राउ

राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी–पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमाा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगी सहित पक्राउ गरेको छ ।

उनीहरुले अवैध रुपमा रु ९९ लाख पाँच हजार बराबर नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य शुरु गरिएको विभागले जनाएको छ । विभागलाई प्राप्त सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको विभागले जनाएको छ ।रासस

 

IME Life
kumari