stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो

उपभोक्ता भने महँगो तिर्न बाध्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा सेवा र वस्तुको महँगी घटेको तथ्य सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आव २०७९/८० को चैत महिनाको तुलनामा चालु आवको चैत महिनामा वस्तु र सेवाको महँगी झन्डै आधाले घटेको हो ।

केन्द्रीय बैङ्कको प्रतिवेदन अनुसार गत आवको चैत महिनामा ७।७६ प्रतिशत रहेको महँगी चालु आवको चैतमा घटेर ४।६४ प्रतिशतमा सीमित रहेको छ । खाद्य तथा पेय पदार्थको महँगी पनि गत वर्षको चैतको तुलनामा घटेको छ । गत आवको चैतमा ६।९३ प्रतिशत रहेको महँगी चालु आवको चैतमा ५.२१ प्रतिशतमा सीमित रहेको देखिएको छ ।

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजार महँगी घटेको देखाए पनि आमउपभोक्ताले भने बजार भाउ घटेको अनुभूति गर्न पाएका छैनन् ।

बरु हरेक वर्षको महँगीको मारमा उपभोक्ता छन् । त्यसो त नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षको बिचमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशतले महँगिएको छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश शाहीले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशत महँगो भएको पाइएको जानकारी दिनुभयो ।

सो अवधिमा सबैभन्दा बढी दैनिक उपभोग्य वस्तु चामल, दलहनजन्य वस्तुको भाउ उच्च महँगो भएको उहाँको भनाइ छ । सो अवधिमा गत वर्ष वैशाखमा प्रतिकेजी ६५ रुपियाँमा कारोबार भएको मोटा चामल अहिले बढेर ८५ रुपियाँ पुगेको छ । दलहन प्रतिकेजीमा १५ रुपियाँदेखि ९५ रुपियाँसम्म महँगो भएको छ ।

सङ्घका अनुसार सो अवधिमा चनाको दाल प्रतिकेजी १२५ रुपियाँबाट महँगिएर १४० रुपियाँको छ भने रहरको दाल प्रतिकेजी २०५ रुपियाँबाट महँगिएर तीन सय रुपियाँ पुगेको छ ।

त्यसो त राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार भने खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैरमदिराजन्य पेयपदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ ।

उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लसिनाले राष्ट्र बैङ्कको महँगीको तथ्याङ्क र उपभोक्ताले किन्ने भाउमा तालमेल नभएको बताउनुभयो ।

पछिल्लो पटक दैनिक उपभोग्य अधिकांश वस्तुको भाउ महँगिएको बेलामा राष्ट्र बैङ्कले गत वर्षको चैतको तुलनामा यो चैतमा महँगी घटेको भन्ने तथ्याङ्कमा पुष्टि हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँको बजारको अध्ययन गर्ने हो भने उपभोग्य वस्तु, चामल, दलहन, मसला, तरकारी, माछामासु, भाँडाकुँडालगायत सबै वस्तुको भाउ महँगिएको छ । राष्ट्र बैङ्कले बजार भाउ र राष्ट्र बैङ्कको तथ्याङ्कमा फरक हुने स्वीकार गरेको छ ।

बैङ्कका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैङ्कले उपभोक्तासँग सम्बन्धित चार सय बढी वस्तु र सेवालाई एउटै डालोमा राखेर विश्लेषण गरेर सार्वजनिक हुने तथ्याङ्कमा बजार भाउसँग ठ्याकै नमिल्नु स्वाभाविक भएको बताउनुभयो ।

उहाँका अनुसार राष्ट्र बैङ्कले निश्चित तोकेका क्षेत्रबाट वस्तु र सेवालाई लिएर सबैलाई एकै ठाउँमा सङ्कलन गरेर बजार भाउ विश्लेषण गरेर औसतमा तथ्याङ्क निकाल्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
kumari