stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बदलियो नेपालीको खर्च शैली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।। आम्दानीको अधिकांश हिस्सा खाद्यान्नमा खर्च गर्ने नेपालीको शैलीमा परिवर्तन देखिएको छ । विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको पाइएको हो ।

हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षणमा विगत एक दशकको अन्तरमा खर्च खाद्यान्न र गैरखाद्यान्नमा नेपालीले करिब आधा आधा खर्च गर्ने तथ्य सार्वजनिक भएको हो ।

सर्वेक्षण अनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन् ।

गैर खाद्यान्नमा सन् २०११ मा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्‍याएका छन् ।

समीक्षा अवधिमा नेपालीले खाद्यान्नमा गर्ने खर्चको शैली पनि फेरिएको पाइएको छ । पछिल्लो समय नेपालीले खाद्यान्नमा पनि अधिक क्यालोरी भएका पौष्टिक खाद्यमा बढी खर्च गर्न थालेको देखिएको छ ।
उदाहरणका लागि कुल खाद्यान्नमध्ये सन् २०११ मा तीन प्रतिशत हिस्सा फलफूलको हुनेमा सन् २०२२ मा फलफूलको हिस्सा बढेर सात प्रतिशत पुगेको छ ।

त्यस्तै तरकारीको अंश १० प्रतिशतबाट बढेर १२ प्रतिशत पुगेको छ । नेपालीले मासुमा गर्ने खर्च पनि बढेको छ । खाद्यान्नको कुल खर्चमध्ये १४ प्रतिशत मासुमा हुने गरेको पाइन्छ, जुन २०११ मा १३ प्रतिशत थियो ।

खाद्यान्नमा गर्ने खर्चको शैली हेर्दा नेपालीले अनाजतर्फको खर्च घटाएर फलफूल, तरकारी र माछामासुतर्फ बढाएको सर्वेक्षणले देखाउँछ । सन् २०११ मा ३४ प्रतिशत खर्च अनाजमा गर्ने प्रवृत्ति बदलिएर १७ प्रतिशतमा पुगेको छ । यस हिसाबले अनाजमा गर्ने खर्च आधा घटाएको देखिन्छ ।

गैर खाद्यान्नतर्फ नेपालीको खर्च बढ्नुको मुख्य कारण भने भाडा, यातायातका साधन र सूचना प्रविधिको बढ्दो उपयोग देखिन्छ ।

त्यस्तै पछिल्लो समय नेपालीको ध्यान टिकाउ वस्तुको खरिदतर्फ गएको पनि सर्वेक्षणले देखाउँछ । नेपालीले आफ्नो कुल खर्चको पाँच प्रतिशत त्यस्ता टिकाउ वस्तुको खरिदका लागि गरेको तथ्याङ्कले देखाउँछ जुन सन् २०११ मा तीन प्रतिशत थियो ।

त्यस्तै भाडामा नेपालीले गर्ने खर्च कुल खर्चको नौ प्रतिशतबाट बढेर १२ प्रतिशत पुगेको छ । कम टिकाउका गैरखाद्यान्नमा हुने खर्च पनि समीक्षा अवधिमा बढेको देखिन्छ । सन् २०११ मा यस्ता वस्तुले नेपालीको कुल खर्चको २५ प्रतिशत हिस्सा ओगटेकोमा त्यस्तो हिस्सा बढेर ३१ प्रतिशत पुगेको देखिन्छ ।

गैर खाद्यतर्फ टिकाउ वस्तु खरिद गर्ने शैलीमा व्यापक परिवर्तन देखिएको छ । समीक्षा अवधिमा कार, कम्प्युटर, मोटरसाइकल, रेफ्रिजेरेटर, पङ्खा र मोबाइलको स्वामित्व बढेको देखिन्छ ।

सर्वेक्षण अनुसार सन् २०११ मा ०.८२ घरपरिवारसँग कारको स्वामित्व रहेकोमा सन् २०२२ मा त्यस्तो स्वामित्व बढेर १.८५ प्रतिशत पुगेको छ । त्यस्तै ८.७७ प्रतिशत नेपाली घरपरिवारसँग कम्प्युटरको स्वामित्व रहेको पाइएको छ जुन त्यसअघि ६.०३ प्रतिशत थियो ।

यसबिचमा मोटरसाइकल प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य बढेको छ । अहिले करिब २५ प्रतिशत घरपरिवारसँग मोटरसाइकल रहेको छ जुन १२ वर्षअघि ९।१८ प्रतिशत घरपरिवारमा सीमित थियो ।

रेफ्रिजेरेटर प्रयोग गर्ने घरपरिवारको सङ्ख्या पनि ८.६१ प्रतिशतबाट बढेर २६.८९ प्रतिशत पुगेको छ । पङ्खाको प्रयोग पनि उल्लेख्य रूपमा बढेको छ । अहिले करिब ६१ प्रतिशत घरपरिवारले पङ्खाको प्रयोग गर्ने पाइएको छ ।

सन् २०११ मा पङ्खा प्रयोग गर्ने घरपरिवारको सङ्ख्या ३४ प्रतिशत मात्र थियो । दूरसञ्चार सेवाको पहुँच बढ्दा मोबाइल प्रयोग गर्ने घरपरिवारको सङ्ख्या ९३.५५ प्रतिशत पुगेको छ ।

खाद्य सचेतना बढ्दै जाँदा नेपालीको खर्च शैलीमा पनि परिवर्तन देखिँदै गएको सर्वेक्षण प्रकाशन गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा। हेमराज रेग्मी बताउनुहुन्छ ।

“उच्च क्यालोरीयुक्त खानपान र बढ्दो आम्दानीका कारण गैरखाद्य वस्तु खरिद गर्न सक्ने सामथ्र्य बढ्दा खर्च गर्ने शैलीमा रूपान्तरण देखिएको हो,” उहाँले भन्नुभयो ।

सन् २०११ को तुलनामा सर्वेक्षणका लागि संलग्न गरिएका खाद्यवस्तुको सङ्ख्या (डालो) बढाउँदा पनि खर्च शैलीमा भिन्नता पाइएको उहाँको भनाइ छ । सर्वेक्षणमा यस पटक ७७ वटा खाद्यवस्तु समेटिएको छ जुन यसअघि ४० मात्र थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ।

prabhu mahalaxmi
kumari