stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चालिस हजार दुध किसानको बाइस करोड भुक्तानी बाँकी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा  किसान  पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको हो ।

दुध उत्पादन गर्ने चितवनका ४० हजारभन्दा बढी किसानले करिब २२ करोड भुक्तानी लिनुपर्ने छ । दुग्ध उद्योगहरूलाई उधारोमा दुध बेच्न बाध्य भएका किसानले भदौदेखिको भुक्तानी नपाएका हुन् । किसानले दुग्ध सहकारीमा दुध बेच्ने गरेका छन् ।

किसानबाट सङ्कलित दुध सहकारीहरूले उद्योगलाई बिक्री गर्दै आएका छन् । उद्योगबाट भुक्तानी आए किसानले दुधको पैसा पाउँछन्, नत्र पाउँदैनन् । अहिले पाँच महिनादेखिको किसानको दुधको भुक्तानी उद्योगले सहकारीमा पठाएका छैनन् ।

“किसानको दुध खरिद गरेर लैजाने दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगहरूले दुग्ध सहकारीहरूलाई पाँच महिनादेखिको रकम पठाएनन्, जसले गर्दा किसानले दुध बेचेर पनि पैसा पाएनन,” चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले भन्नुभयो, “चितवनका एक सयभन्दा बढी दुग्ध सहकारीले दुधको भुक्तानी पाएका छैनन्, सहकारीमा दुधको भुक्तानी नआउँदा किसान मारमा परेका छन् ।”

सङ्घका अध्यक्ष बगाले किसानको समस्या सुन्ने सरकार नभएकाले समस्या भएको बताउनुभयो । बाँकी पैसा नभएपछि  सम्बन्धित निकाय समक्ष विभिन्न पाँचबुँदे मागसमेत राखेको उहाँले बताउनुभयो ।

ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बिमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दुध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्नेलगायतका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासीन बनेको गुनासो गर्नुभयो । सङ्घका सचिव कल्याण अधिकारीले बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन् जटिल हुँदै गएको छ भन्नुभयो । “न उत्पादन बढी हुँदा बिक्री गर्न सकिन्छ, न त बिक्री भएको दुधको भुक्तानी पाइन्छ,” उहाँले भन्नुभयो, “हामी चेपुवामा परेका छौँ ।” आत्मनिर्भर उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई  राज्यको  नीतिले सम्बोधन नगरेको र  किसानलाई प्रोत्साहन नभएको उहाँले गुनासो गर्नुभयो ।

चितवनमा १५५ वटा दुग्ध सहकारी जिल्ला प्रशासन कार्यालयमा दर्ता छन् । जिल्ला दुग्ध सहकारी सङ्घमा ११२ वटा सहकारी आबद्ध छन् । दुग्ध व्यावसायिक फर्महरू चितवनमा एक सय वटा छन् । चितवनमा हिउँदमा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ ।

चितवनबाट डिडिसी लगायत ३१ वटा उद्योगमा एक लाख ५१ हजार लिटर दुध जान्छ । चितवनबाट डिडिसीमा मात्र ३५ हजार लिटर दुध जान्छ । किसानले दुधको चार फ्याट र आठ एसएनएफ आए प्रतिलिटर ६५ रुपियाँ पाउँछन् ।

prabhu mahalaxmi
kumari