चीन र भारत मिल्न नदिने षडयन्त्र
काठमाडौं । चीन र भारतका दाजुभाइहरू मिलेर अघि बढ, इन्डो प्यासीफिक डिजाइनले आफ्नो रंग देखाउँदैछ । यो डिजाइनको मकसद भनेकै हाम्रो क्षेत्रमा भाँडभैलो मच्चाउने हो । एशियाका भीमकाय अर्थतन्त्र चीन र भारतलाई मिल्न नदिने, आपसमा जुधाउने ।
नेपाल र भारतलाई पनि मिल्न नदिने, आपसमा कटुता सिर्जना गराइदिने । जब यो क्षेत्रमा अशान्ती मच्चिन्छ अनि मध्यस्थताका नाममा अमेरिकाले आफ्नो भूमिकाको छिद्र खोतल्ने । भारतलाई लागेको हुँदो हो चीनसँग भिडन उसलाई अमेरीकाले दरिलो साथ दिनेछ । तर, भारतले बुझ्नुपर्छ अमेरिकाले यो क्षेत्रमा डबल स्टाण्डर्ड रोल प्ले गरिरहेको छ ।
चीनसँगको आफ्नोे बृहत आर्थिक स्वार्थलाई थाती राखेर उसले भारतलाई एकलौटी काखी च्याप्नेछैन । बस, अमेरिका त उकास्ने शकुनी मात्र हो, उ जुधाउँछ र शान्तिको दुहाइ दिदै रमिता हेर्छ । अतः भारतले चीन, पाकिस्तान, नेपाल, रुसलगायतका मुलुकसँग वैमनस्य राख्नु भनेको प्रत्युत्पादक नै हुन्छ ।
बरु एशियालाई आर्थिक केन्द्र बनाउन भारतले नेपाल लगायत आफ्ना छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै, उनीहरुका हडपेका भूमि फिर्ता दिदै, चीनसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्दै अमेरिकी घुसपैठ र षडयन्त्र चिर्ने भूमिका निर्वाह गर्नुपर्छ । यो क्षेत्रमा एक्लिदै गएको भारतलाई अमेरिकाले कुनै हालतमा भरथेग गर्नेवाला छैन ।
अतः यो इन्डो प्यासीफिक चक्रब्यूहबाट भारत उम्कनु नै उत्तम । हैन भने हामी लडिरहने छौं, फिरंगीहरु तमासा हेरीरहेछन् । एशियाको आर्थिक विष्फोट रोक्ने अमेरिकी चाल सफल हुनेछ । अतः हिन्दी -चीनी भाई भाई होस्, नेपाल र भारतवीच पनि रोटी र बेटीको सम्बन्ध कायम रहोस् ।
भारतको रक्षामन्त्री राजनाथ सिंहको संबोधन सकारात्मक छ, अब तत्काल बार्तामार्फत हाम्रो लिपुलेक फिर्ता होस् । बरु, बाटो बनोस्, भारतले नै बनाओस्, तर त्यो भूमि नेपाली सीमाभित्रकै हो भन्नेमा भारत सहमत होस् र कालापानीबाट आफ्ना सेना फिर्ता लगोस् । हैन भने चीनीया डर्यागनको आगोले लपेटेका बेला हामीसँग सहानुभूतिका शब्दहरु पनि नहुनसक्छन् र नेपाल बाध्य भएर चीनीया लबीमा जानसक्छ ।
























