श्रीलंकाका विदेशमन्त्री बुधबार आउँदै
काठमाडौं । श्रीलंकाका विदेशमन्त्री अली साब्री तीनदिने भ्रमणका क्रममा बुधवार काठमाडौं आउने भएका छन् ।नेपाल श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन अली काठमाडौं आउन लागेका हुन् ।
श्रीलंकाको विदेश मन्त्रालयले सोमबार विज्ञप्तिमा जनाएअनुसार परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो ।
‘संयुक्त आयोगको उद्घाटन शत्रमा सहभागी हुन विदेशमन्त्री साब्री नेपालको भ्रमणमा जान लागेका हुन्,’ श्रीलंकाको विदेश मन्त्रालयले भनेको छ । श्रीलंकाको प्रतिनिधिमण्डलसहित उनी आउन लागेका हुन् ।
नेपालका लागि श्रीलंकाली राजदूत जनरल सुदर्शना पाथीरानाले सोमबार परराट्रमन्त्री एनपी साउदसँग भेटेर भ्रमणबारे छलफल गरेका छन् ।
संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने श्रीलंकाली विदेश मन्त्रालयले जनाएको छ ।
बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत हुने कार्यक्रम छ ।
श्रीलंकाली विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी शुक्रबार स्वदेश फर्किनेछन् ।























