आइपीओ भर्दा खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुने सिस्टम कहाँ अड्कियो ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपीआईसम्बन्धी कार्यविधि पारित गरेको २ महिना बितिसक्दा पनि आइपीओ भर्दा रियल टाइम डाटा उपलब्ध हुने सिस्टम कार्यान्यनमा आएको छैन ।
यो कार्यविधि पारित भएपछि विशेषगरी सीडीएस एन्ड क्लियरिङ लिमिटेडको डाटाको काम गर्न अनुमति पाएकाहरुले रियल टाइम डाटा लिन सक्नेछन् । यो व्यवस्था कार्यान्वनयमा आएपछि आइपीओ भर्दा बैंक खातामा पैसा छ
कि छैन भनेर तत्कालै पत्ता लगाउन सकिने छ । यदि, पैसा छैन भने सिस्टमले तुरुन्तै आइपीओ आवेदन रिजेक्ट गर्नेछ । तर, कार्यविधि पारित भएको २ महिना बढी समय व्यतीत हुँदा पनि यो प्रावधान भने कार्यान्वयनमा आएको छैन ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले यसबारे सम्बन्धित सबैलाई जानकारी गराइसकेको बताए । सिस्टम तयार भइसकेको छ ।
अहिले परीक्षणका क्रममा रहेको उनले नेपाली पैसालाई बताए । उनले भने, ‘ सरोकारवालाहरुले पनि आफ्नो तर्फबाट सिस्टम बनाउँदैछन् ।
उनीहरुको सिस्टम तयार भएपछि यो कार्यान्वयनमा आउने हो । अहिले बैंक र पेमेन्ट पाटर्नरहरु आइरहेका छन् । उनीहरुले पनि टेस्ट गर्नुपर्यो । त्यसैले यसमा केही समय लागेको हो।’ अब बैंक, वित्तीय संस्था तथा विभिन्न वालेटको माध्यमबाट डिम्याट वा मेरो सेयर नवीकरण गर्दा धेरै दिन खाता रिन्यून नहुने समस्या पनि समाधन हुनेछ ।
ब्रोकर, डीपी, नेप्से, आस्वा मेम्बरहरुलाई के–के डाटा चाहिन्छ त्यो एपीआईमार्फत वितरण गर्न सकिनेछ । गत साउनमा घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन परेपछि रियल टाइम भेरिफाई गर्ने सिस्टमको आवश्यकता महसुस गरिएको थियो ।
घोराहीको आइपीओमा बैंक खातामा पैसा नहुनेले पनि ठूलो कित्ता फर्जी आवेदन दिएका थिए । त्यसपछि धितोपत्र बोर्डले यो आइपीओ प्रक्रियालाई बीचमा नै रोकेको थियो ।
छानबिनपछि पुनः घोराहीको आइपीओ बिक्री खुला भएको थियो । बैंक खातामा पर्याप्त रकम नभए पनि कतिपयले यसमा सेयर भरेका थिए । जसका कारण मागभन्दा निकै धेरै आवेदन परेको देखिएको थियो ।
तर घोराही सिमेन्टले मागभन्दा धेरै आवेदन परे पनि आइपीओ भर्ने समय थप गर्यो । त्यसपछि यो विषय सतहमा आएको थियो । त्यसपछि धितोपत्र बोर्डले छानबिन गर्ने भन्दै यो प्रक्रिया बीचमै स्थगन गरेको थियो ।
छानबिनपछि आइपीओ बिक्री पुनः खुला गरिए पनि भविष्यमा यस्ता समस्या नदोहोरियोस् भन्नका लागि नयाँ सिस्टमको आवश्यकता महुसुस गरिएको थियो । सोही अनुसार सीडीएसले रियल टाइम डाटा भेरिफिकेसन गनृ सकिने सिस्टम विकास गरेको हो ।























