सिमरा, भरतपुर र जुम्ला विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउँदै निगम
काठमाडौं । नेपाल आयल निगमले सिमरा, भरतपुर र जुम्ला विमानस्थलबाट उडान तथा अवतरण गर्ने हवाईजहाजलाई इन्धन उपलब्ध गराउने भएको छ । हाल ती स्थानमा इन्धन भर्ने सुविधा नहुँदा हवाईजहाजले काठमाडौंबाटै दुईतर्फी उडानका लागि आवश्यक इन्धन बोक्ने गरेका छन् ।
आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले तीनवटै विमानस्थलमा चाँडै रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) पठाएर इन्धन सुविधा प्रदान गर्न लागिएको जानकारी दिए ।
‘यी विमानस्थलमा इन्धन भर्ने सुविधा छैन । इन्धन भर्ने सुविधाको माग गर्दै स्थानीय तह, नागरिक उड्डयन प्राधिकरणमातहतको विमानस्थल कार्यालय र हवाईजहाज कम्पनीले लिखित पत्राचार गरेका छन्,’ उनले भने, ‘अब सकेसम्म दसैँअगाडि नै अस्थायी रूपमा भए पनि इन्धन भर्ने सुविधा प्रदान गर्न थालिहाल्छौँ, यसबाट यात्रु र विमान कम्पनीलाई सहज हुने विश्वास छ ।’
आयल निगमले धेरै तेल खपत हुने भद्रपुर, विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका विमानस्थललाई उच्च प्राथमिकता दिएर विमानस्थल परिसरमै हवाई इन्धन डिपो स्थापना गरेको छ । तर, थोरै इन्धन खपत हुने विमानस्थलमा हवाई इन्धन डिपो राख्न चासो नदिँदा विमान कम्पनी र यात्रुले दुःख पाउँदै आएका छन् ।
सिमरा विमानस्थल प्रमुख सूर्यबहादुर खत्रीले यात्रु र विमान कम्पनीको सहजताका लागि इन्धन भर्ने सुविधा अपरिहार्य भएको बताए । ‘सिमरामा दैनिक कम्तीमा नौवटा उडान हुने गरेका छन् ।
यहाँ आउने–जाने जहाज काठमाडौंबाट तेल बोकेर आउन बाध्य छन्,’ खत्रीले भने, ‘सधैँ यसरी नै दुईतर्फी तेल बोकेर विमान कम्पनीलाई सेवा दिन गाह्रो हुन्छ । त्यसैले सिमरा विमानस्थलमा इन्धन भर्ने सुविधा उपलब्ध गराउन आयल निगमलाई हामीले पत्राचार पनि गरेका छौँ ।’
सबैभन्दा नजिक र सीधा हवाई रुटमा रहेको सिमरा विमानस्थलमा इन्धन भर्ने सुविधा भए प्रतिकूल मौसमका वेला विमान डाइभर्ट गर्न धेरै सजिलो हुने खत्रीको भनाइ छ । अहिले काठमाडौं विमानस्थलमा कुनै समस्या भए जहाजलाई विराटनगर विमानस्थलमा अवतरण गराउने गरिएको छ ।
केही समयअघि सिमराबाट उडेको एउटा जहाज काठमाडौंमा मौसम प्रतिकूल हुँदा आकाशमै सात फन्को लगाएको थियो । मौसममा सुधार नआएपछि सो विमान विराटनगर विमानस्थलमा अवतरण गराइएको थियो । सिमरामा इन्धन भर्ने सुविधा नहुँदा लामो दूरीको विराटनगरमा अवतरण गराउँदा यात्रु र विमान कम्पनीले अनावश्यक दुःख पाएका थिए ।
‘सिमरामा तेल भर्ने सुविधा नहुँदा अहिले विराटनगरजस्तो लामो दूरीमा लगेर जहाजलाई आकस्मिक अवतरण गराउनुपर्ने बाध्यता छ ।
यहाँ तेल भर्ने सुविधा हुनासाथ काठमाडौं विमानस्थलमा प्रतिकूल मौसम हुँदा बढीमा १५ मिनेटको दूरीमा रहेको सिमरामा ल्यान्ड गराउन सकिन्छ,’ सिमरा विमानस्थल कार्यालय प्रमुख खत्रीले भने । आयल निगमको अध्ययनअनुसार सिमरा र भरतपुरमा दैनिक करिब पाँच–पाँच हजार लिटर हवाई इन्धन खपत हुन्छ । जुम्लामा भने कार्गो विमान र हेलिकोप्टरको उडानले खपत परिमाण घटबढ हुने गरेको छ ।
स्थानीय तह, विमानस्थल र विमान कम्पनीको पत्राचार
काठमाडौंबाट सबैभन्दा नजिक र सीधा हवाई रुट रहेको सिमरा र भरतपुर विमानस्थलमा विमानलाई इन्धन भर्ने सुविधा जडान गर्न वायुसेवा सञ्चालक संघ, नेपालले बिहीबार आयल निगमलाई पत्राचार गरेको छ । दुवै विमानस्थलमा यथाशीघ्र इन्धन भर्ने सुविधा भए जहाज र यात्रुलाई सहज हुने संघको भनाइ छ ।
त्यस्तै, बुद्ध एयरले २१ भदौमा निगमलाई पत्र लेख्दै सिमरा विमानस्थलमा इन्धन भर्ने सुविधा भए उडान संख्या बढाउन सक्ने र आन्तरिक विमानस्थलको सबैभन्दा भरपर्दो वैकल्पिक विमानस्थल हुने बताएको छ ।
त्यस्तै, सिमरा नागरिक उड्डयन कार्यालयले २२ भदौमा, १७ भदौमा जितपुर–सिमरा उपमहानगरपालिका र १९ भदौमा उद्योग वाणिज्य महासंघको मधेश प्रदेश समितिले समेत पत्राचार गर्दै सिमरामा हवाई इन्धन भर्ने सुविधा जडान गर्न माग राखेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।























