नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरू शेर्पाको उम्मेदवारी
जेठ २७ र २८ गते निर्वाचन
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्व चयन निर्वाचन यही २०७९ जेठ २७ र २८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । सो निर्वाचनबाट संघले नयाँ नेतृत्व पाउदैछ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरूले मिलेर उम्मेदवारी दिएका छन भने नेकपा ( एमाले) निकटले सबै व्यवसायीको साझा उम्मेदवारी दिएको छ।
कांग्रेस र माओवादी केन्द्र बीच एनएमए र टान बीचमा भागबन्डा भएको छ। एनएमए अध्यक्ष माओवादी केन्द्रलाई र टानको अध्यक्ष कांग्रेसलाई दिने अनौपचारिक सहमति भएको छ।
टानको अध्यक्ष लिन कांग्रेसले नाराको अध्यक्ष छाडेको थियो। एमालेले एनएमएको अध्यक्षमा निमा नुरू शेर्पालाई समर्थन गरेको छ। उनलाई सबै व्यवसायीको साझा उम्मेदवारका रूपमा उठाएको छ।
वषौंदेखि दोहन गरेर बसेको राजनीतिक दलको आवरणको गिरोह विरुद्ध यस पटक आरोही तथा व्यवसायीहरुले स्वतन्त्र प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । संघको नयाँ नेतृत्वका लागि भोली जेठ २७ गते शुक्रवार निर्वाचन हुँदैछ ।
संघलाई कमाइ खाने माध्यम बनाएर बसेका राजनीतिक दल आबद्ध केही व्यक्तिहरुको सिण्डिकेटविरुद्ध हिमाल आरोहणलाई नै पेशा बनाएका प्रतिष्ठित आरोही तथा व्यवसायीहरुले बरिष्ठ उपाध्यक्षदेखि सदस्यसम्मको प्यानल खडा गरेका छन् ।
बरिष्ठ उपाध्यक्षमा सगरमाथा सहित विश्वका ८ हजार मिटरमाथिका ७ वटा हिमालको सफल आरोहण गरिसकेकी चर्चित आरोही माया शेर्पा उम्मेदवार बनेकी छन् । उनी यसअघि द्धितिय उपाध्यक्ष थिइन् ।
माया शेर्पा नेतृत्वको प्यानलबाट उपाध्यक्षमा व्यवसायी नुरु जाङ्बु शेर्पा, द्धितिय उपाध्यक्षमा सार्की तामाङ र महासचिवका आरोही तथा व्यवसायी आङ पेम्बा शेर्पा उम्मेदवार बनेका छन् ।
आङ पेम्बा शेर्पा टानका पूर्व महासचिव पनि हुन् । त्यस्तै सचिवमा शिवहादुर सापकोटा, कोषाध्यक्षमा फुरी गेल्जेन शेर्पा उम्मेदवार बनेका छन् । यो प्यानलबाट सदस्यमा कान्छा नुर्बु शेर्पा,लाक्पा डेण्डी शेर्पा,दावा टासी शेर्पा,आङ दावा शेर्पा,फुरदिकी शेर्पा,दाबुटी शेर्पा,लक्ष्मी तामाङ,पेम्बा शेर्पा,चेङ्गा छिरिङ शेर्पा,पासाङ शेर्पा र किसान गुरुङ सदस्यमा उम्मेदवार बनेका छन् ।
पर्यटन क्षेत्रमा व्यवसाय नगरी राजनीति गर्ने विभिन्न समूहले गैर व्यवसायिक तथा गैर आरोहीहरुको सिण्डिकेट खडा गर्न खोजेपछि यस पटक आरोही तथा व्यवसायीहरुले स्वतन्त्र प्यानल बनाएको माया शेर्पा समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महिला आरोही माया शेर्पालाई बरिष्ठ उपाध्यक्षको उम्मेदवारबाट फिर्ता गराउन राजनीतिक दलका नेताहरुले तीब्र दबाब दिएपछि आरोही तथा मजदूरहरु आक्रोशित भएका छन् ।
एकजना पेशेवर आरोहीलाई फिर्ता गरेर राजनीतिक दलका नेतालाई जिताउन खोजिएको भन्दै आरोहीले घेरा हालेका थिए ।
बरिष्ठ उपाध्यक्षमा ६ दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता ठाकुर पाण्डे उम्मेदवार छन् । यसपटक पर्यटन क्षेत्रमा आबद्ध दलका ठेकेदारहरुले सिण्डिकेट खडा गर्न खोजेपछि आरोही,व्यवसायी र मजदूरले विद्रोह गरेका छन् ।
नेपाल पर्वतारोहण संघ कब्जा गर्न भएभरका सबै राजनीतिक दल एक ठाउँमा उभिएको आरोप लागेको छ ।
यो समूहले अध्यक्षमा भने उम्मेदवार उठाएको छैन । माया शेर्पा समूहले अध्यक्षमा निमा नुरु शेर्पालाई समर्थन जनाएको छ ।
माया शेर्पाको समूहमा आर्थिक रुपमा कतै विवादमा नपरेका र व्यवसायिक रुपमै पर्वतारोहण क्षेत्रमा क्रियाशील व्यक्तिहरु रहेका छन् । यो प्यानलबाट आरोही,व्यवसायी,गाइड तथा पर्यटन मजदूरहरु उम्मेदवार रहेको व्यवसायी तथा नेपाल पर्यटन बोर्डका सदस्य ङावा ङिमा शेर्पाले जानकारी दिएका छन ।
नेपाल पर्वतारोहण संघ सबैभन्दा धेरै सदस्यहरु आबद्ध रहेको विश्वकै ठूलो अल्पाइन क्लव हो ।
पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष उम्मेदवार माया शेर्पाले संस्थामा देखिँदै आएको समस्या राजनीतिक खालको भएकाले अब व्यवसायी,मजदूर तथा आरोहीहरुको स्वतन्त्र प्यानलले आफ्नो जितपछि सबै विवाद निरुपण गरेर साझा संस्था बनाउने बताएकी छिन् ।
महासचिव आङ पेम्बा शेर्पाले पर्वतीय पर्यटनको विकास,हिमालहरुका अन्तर्राष्ट्रियस्तरमा प्रबर्द्वन तथा व्यवसायी,आरोही र मजदूरको समस्यालाई सरकारसँग समन्वय गरेर समाधान गरिने बताएका छन ।























