एसियन कप छनोट : नेपाल जोर्डनसँग २–० ले पराजित
काठमाडौं। एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गतको पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग पराजित भएको छ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा गएराति भएको खेलमा जोर्डनसँग नेपाल २–० गोल अन्तरले पराजित भएको हो। जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे। नेपालले दुवै गोल दोस्रो हाफमा खाएको हो।
डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गरेका नेपाली गोलकिपर दीप कार्कीले पहिलो हाफमा नेपाली टिमलाई जोगाएका थिए। उनले ४३ औँ मिनेटमा मौसा मोहमद सुलेमानको पेनाल्टी प्रहारलाई रोकेका थिए।
जोर्डनलाई ओल्वनले गोल गर्दै खेलको ६९ औँ मिनेटमा शुरुआती अग्रता दिलाए। ८२ औँ मिनेटमा हाम्जाले दोस्रो पटक पाएको पेनाल्टीमार्फत गोल गर्दै जोर्डनलाई २–० को जित दिलाए।
जितसँगै जोर्डनले पहिलो खेलमा ३ अंक जोडेको छ। नेपालले हारबाट प्रतियोगिताको शुरुआत गरेको छ। छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ।






















