जेठ २७ गते नेपाल पर्वतारोहण संघको निर्वाचन
काठमाडौं । जेठ २७ गते नेपाल पर्वतारोहण संघको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । कोभिड–१९ महामारीका कारण केही वर्ष पछि सरेको संघको अधिवेशनको सुरु भएको छ ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार नै उम्मेदवारहरुले मनोनयन दर्ता गराइ सकेको छ । अध्यक्षका लागि निमानुरु शेर्पा र राजेन्द्र मान श्रेष्ठले मनोनयन दर्ता गराउनु भएको छ भने महासचिवका लागि आङपेम्वा शेर्पा र मोहन लम्सालले मनोनयन दर्ता गराउनु भएको छ ।
त्यसै गरी कोषाध्यक्ष पदका लागि फुरग्याल्जेन शेर्पा र मुत्ति पाण्डेले मनोनयन दर्ता गराउनु भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकासन हुने छ भने जेठ २७ गते प्रज्ञा भवन कमलादीमा विहानैदेखि मतदान प्रकृया सुरु हुने प्रमुख निर्वाचन अधिकृत गोकुलप्रसाद बुर्लाकोटीले जानकारी दिनुभयो ।
संघको नेतृत्वका लागि साझा उम्मेदवारका लागि पहल भए पनि केही उम्मेदवार पार्टीगत रुपमा प्रस्तुत भएर मनोनयन दर्ता गराएका छन भने माया शेर्पा सहितको नेतृत्वमा स्वतन्त्र आरोही र व्यवसायीको समुहले छुट्टै रुपमा मनोनयद दर्ता गराएका छन् ।
पर्वतारोहीहरु सहभागि रहेको नेपालकै ठुलो संस्था मध्ये रहेको यस संघले हाल नेपालका २७ वटा साना हिमालहरुबाट राजस्व संकलन गरी व्यवस्थापन गर्दै आएको छ ।























