citizens life insurance long ad
stcnepal long ad

टानको अध्यक्ष पदका लागि त्रिपक्षीय भिडन्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि तीन व्यवसायी प्रतिस्पर्धी चुनावी दौडमा रहेका छन् ।

आगामी माघ २८ गतेका लागि तय गरिएको टानको ४३औं साधारण सभा एवं निर्वाचनमा अध्यक्षका तीनै जना प्रत्यासीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्र समेत सार्वजनिक गरिसकेका छन् । साथै उनीहरुले निर्वाचनमा माहोल आफ्नो पक्षमा पार्न व्यावसायिक दौडधूप र छलफललाई तीव्रता दिएका छन्।

टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा र बोधराज भण्डारी विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचार–प्रसारमा जुटेका छन् ।

प्रत्यासीमध्ये बाँस्तोला टानका पूर्व उपाध्यक्ष हुन। भण्डारी र सापकोटाले भने टान कार्यसमितिमा रहेर काम गरिसकेका छन । होटल तथा ट्रेकिङ्ग व्यवसायमा तीनै जना अब्बल हुन ।

पर्यटन क्षेत्रमा लामो अनुभव भएकाले नेतृत्वका लागि तीनै जनालाई उपयुक्त उम्मेदवारका रुपमा हेरिएको छ । तीनै जना पर्यटनमा परिचित अनुहार भएकाले यस पटकको निर्वाचनमा पनि निकै प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।

टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिने विधानमा व्यवस्था छ ।

टान निर्वाचनका लागि मिति घोषणा भएसँगै आकांक्षी उम्मेदवारले आफ्ना प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा लागेको टानका अध्यक्ष खुम सुवेदीले बताएका छन ।

कोभिड महामारीको तेस्रो लहरको त्रास रहेकाले पूर्वनिर्धारित कार्यक्रम हुन्छ कि हुँदैन यकिन भएको छैन । यद्यपि, निर्वाचनको माहोल बनाउन उम्मेदवार मैदानमा उत्रिसकेका छन् । टानमा करिब एक हजार ८ सय व्यवसायी आबद्ध छन् ।

टानका पूर्वउपाध्यक्षसमेत रहेका बाँस्तोलाको एशियन हेरिटेज गुप्र अन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यात लगायत उद्योग व्यवसायमा लगानी छ ।

यस्तै उहाँले एशियन हेरिटेज फाउण्डेशन नेपाल मार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन ।

विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा पूर्णरुपमा लागेका बाँस्तोलाले सन् २००२ मा टानको साधारण सदस्य लिएका थिए । सोलुखुम्बु निवासी बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरेका छन ।

एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाका समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आएका बाँस्तोला सन् २०१३/२०१५ मा टानको कार्यसमिति सदस्य एवं सन् २०१७/२०१९ मा द्वितीय उपाध्यक्ष निर्वाचित भएका थिए ।

बाँस्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय इतिहास बोकेको टानलाई अझै सशक्त व्यावसायिक संस्थाका रुपमा अगाडि बढाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउछन ।

उनले नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन भएकाले कोभिडले थलिएको समग्र पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न टानको नेतृत्वमा आउन उम्मेदवारी दिएको उल्लेख गरेका छन।

अध्यक्षका अर्का प्रतिस्पर्धी व्यवसायी सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन । आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशक समेत रहेका सापकोटाले ठमेलमा पर्यटकीय होटल समेत सञ्चालन गरेका छन । सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यसमेत हुन ।

पर्यटन क्षेत्रको प्रवर्द्वनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको उनले बताए । उनले भने( “निजी क्षेत्रबाट सञ्चालित टानको धुमिल हुन लागेको अस्तित्वलाई बचाउन र टानको गरिमालाई उँचो बनाउन मेरो भूमिका रहन्छ, निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवर्द्वनात्मक कामलाई अघि बढाउन जरुरी छ ।”

सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्ने बताए ।

सुरूआतमा टिम्सको शुल्क टानसँग सहकार्य गरेर पर्यटन क्षेत्रमा कार्यान्वयन गर्ने र १० प्रतिशत रकम पर्यटन मजदुरको हितमा खर्च गर्ने सम्झौता भएको थियो । सम्झौताअनुरुप काम नभएको व्यवसायीको गुनासो रहदै आएको छ ।

यता पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी भण्डारीले पनि टान नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका छन । स्नोइ होराइजन ट्रेक्स एण्ड एक्स्पीडिसन प्रा.लि.का सञ्चालक भण्डारीले आफ्ना प्रतिबद्धता पनि सामाजिक सञ्चाल मार्फत सार्वजनिक गरेका छन ।

उनले टान र टानका साधारण सदस्यप्रति उत्तरदायी भएर चुनावी खर्च कम गर्ने र उम्मेदवारी दर्ता शुल्क तथा बढीमा एक पन्ने प्रतिबद्धता पत्रको छपाइ खर्च मात्र हुने बताएका छन ।

उनले निर्वाचनमा कुनै सदस्यको सदस्यता नवीकरण गरिदिने, फजुल खर्च नगर्ने, भेला र भाषणबाजी नगर्ने बताएका छन ।

कुनै राजनीतिक दल र नेतासँग टानका विषयमा छलफल, सहमति या सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै भण्डारीले पदयात्रा, पर्वतारोहण व्यवसायको प्रवर्द्वन, संरक्षण, विकास र बिस्तारका लागि पूर्णरुपमा प्रतिबद्धता जनाएका छन् ।

 

IME Life
kumari