citizens life insurance long ad
stcnepal long ad

नेपाल वायुसेवा निगमको सिड्नीदेखि लण्डनसम्म उडान भर्ने नयाँ योजना

निगमले सिड्नीदेखि लण्डनसम्मको उडान योजना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी  ‘नेपाल वायुसेवा निगम’ (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रिय उडानतर्फ सन्तोषजनक व्यापार गरेको पाइएको छ ।

निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको तथ्यांक रहेको छ । महामारीका बेला सीमित संख्यामा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान भएको कारणले निगमको व्यापार बढेको थियो ।

महामारीका बेला सीमित संख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेकाले निगमको व्यापार हिस्सा बढेको निगमका कर्पोरेट विभाग स्रोतले जानकारी दिएको छ ।

कोरोना महामारीका बेला सन् २०२० मा निगमको व्यापार हिस्सा राम्रो देखिनुमा सीमित एयरलाइन्सले उडान सञ्चालन गरेकाले हो । अघिल्लो वर्ष निगमले प्रतिस्पर्धी एयरलाइन्ससँग पनि व्यापार हिस्सा राम्रै गरेको थियो।

निगमले कोभिड महामारीपूर्व सन् २०१९ मा अन्तर्राष्ट्रिय तर्फ १७.८० प्रतिशत व्यापार हिस्सा ओगटेको तथ्याक छ । तर महामारीको बेलामा भने त्यो हिस्सा बढाएर २५ प्रतिशत पुरयाउन सफल भएको थियो।

त्यस्तै निगमले अन्तर्राष्ट्रिय उडानतर्फ सन् २०१८ मा ११.३ र सन् २०१७ मा ९.७० प्रतिशत व्यापार गरेको थियो । त्यसअघि सन् २०१५ मा जम्मा ७.९० प्रतिशत रहेकामा सन् २०१६ मा १०.९० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो ।

निगमले अन्तर्राष्ट्रियस्तरमा दुई वाइडबडी र दुई न्यारोबडी जहाज मार्फत भारतका नयाँ दिल्ली , मुम्बई र बैङलोर तीन उडानसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । भारत बाहेक अन्य देश अन्तर्गत जापानको नारितामा, मलेसियाको क्वालालम्पुर, हङ्कङ, थाइल्याण्डको बैंकक, कतारको दोहा र दुबईमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

नेपालले हाल ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तर निगमका जहाजले भने हाल सात देशमा मात्र उडान भर्दै आएको छ।

तीन नेपाली वायुसेवा कम्पनी सहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । अन्य देशका २७ वटा हवाई कम्पनीहरूले नेपालमा हवाई उडान गर्दै आएका छन्।

निगमको वर्तमानमा व्यवस्थापक अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको छ। ।

जहाज थपेर व्यापार बढाउने कार्ययोजनाका साथ काम अघि बढाउन निगम लागि परेको छ । निगमले दक्षिण कोरिया, चीनको ग्वाङ्जाओ लगायत गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना बनाएको थियो । तर कोरोना महामारीले उक्त योजना सार्थक हुन सकेको छैन ।

सिड्नीदेखि लण्डनसम्मको उडान योजना

निगमले आगामी छ वर्षभित्र अन्तर्राष्ट्रिय उडानमा थप १४ जहाज गरिद गर्ने योजना बनाएको छ । पाँचवर्षे कार्ययोजना अन्तर्गत सन् २०२७ सम्ममा अन्तर्राष्ट्रिय उडानमा छ वटा वाइडबडी र आठ वटा न्यारोबडी गरी १४ वटा जहाज खरिद गर्ने योजना बनाएको छ । विमान खरिद र उडानको पाँचवर्षे कार्ययोजना बन्दै गरेको छ।

निगमले अन्तर्राष्ट्रियतर्फ छ वर्षभित्र लण्डनदेखि सिड्नीसम्म तथा जापानको टोकियो, भारतको कोलकाता, अहमदाबाद, चीनको ग्वाङ्जाओ, साङघाई,इन्चेन, श्रीलंकाको कोलम्बो, साउदी अरबको रियाद, इण्डोनेसियाको बालि र जर्मनको फ्र्यांकफर्ट उडान गर्ने विस्तृत कार्ययोजना बनाइरहेको छ ।
निगमले तत्कालै साउदी अरेबियाको रियादमा सातामा दुई उडान गर्नेगरी अन्तिम तयारी गरेको स्रोतको दाबी छ । दुबई गन्तव्यमा उडान संख्या थपेको छ ।

भारतका तीनवटै गन्तव्य नयाँदिल्ली,मुम्बई र बैङलौरमा उडान सञ्चालन गर्ने योजना बनाएको छ । महामारीका कारण हाल नयाँदिल्ली गन्तव्यमा मात्रै उडान भइरहेको छ । छिट्टै बैङ्लोर र मुम्बइमा पनि उडान गर्ने तयारी भइरहेको निगम स्रोतले उल्लेख गरेको छ ।

निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग रु. १५ अर्ब माग गरेको छ । तर सरकारले स्रोतको व्यवस्थापन कसरी गर्छ भन्न सक्ने स्थिति छैन।

करिव रु. ५० अर्ब ऋणभार बेहोरिरहेको निगमको जहाजका लागि लगानीबाहेक भन्सार छुट, ग्राउन्ड ह्यान्डलिङ सेवा निगमलाई नै सीमित राख्न मन्त्रालयसँग अनुरोध पनि गरेको छ । महामारीका कारण निगमले करिब २० महिनाको अवधिमा रु। नौ अर्ब आम्दानी गुमाएको बताउदै आएको छ ।

निगमको आन्तरिक उडानतर्फ भने व्यापार खुम्चिदै आएको छ । उक्त वर्ष निगमले जम्मा दुई प्रतिशत मात्र आन्तरिक व्यापार गरेको तथ्यांक छ ।

आन्तरिक उडानतर्फ जहाज अभावले व्यापार अभिवृद्धि गर्न नसकेको निगम स्रोतले बताएको छ । निगमसँग आन्तरिकतर्फ जम्मा दुई वटा टुइनअटर जहाज मात्र चालू अवस्थामा छन् । यी जहाजले विभिन्न १७ गन्तव्यमा उडान भर्दै आएका छन् ।

काठमाडौँबाट ताप्लेजुङ, भोजपुर, थामखर्क, लुक्ला, खानीडाँडा, फाप्लु, दाङ जस्ता दुर्गम क्षेत्रको उडान भर्दै आएका छन।

पश्चिममा नेपालगञ्जबाट बाजुरा, सिमकोट, जुम्ला, रुकुम, ताल्चा, बझाङ, साँफेबगर र डोटीसम्म दुर्गम क्षेत्रको उडान गर्दै आइरहेको छ ।

निगमले आन्तरिक उडानतर्फ थप १८ थान जहाज खरिदका लागि माग गरेको छ । निगमले दुर्गम तथा हिमाली भेगका लागि आठ वटा र सुगम रुटका लागि १० वटा जहाज खरिदका लागि मन्त्रालयमा कार्ययोजना पेश गर्ने तयारी गरेको बुझिन आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानतर्फ बार्षिक ३०० हाराहारी उडान भइरहेको छ ।

६३ वर्षे इतिहास बोकेको निगममा हाल सीमित जहाज भएकाले अन्य एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।

निगममा हाल स्थायी र अस्थायी तथा अन्य प्रकृतिका गरी कूल एक हजार ३ सय ६९ कर्मचारी कार्यरत रहेका छन् । यी कर्मचारीलाई बाह्य उडान र ग्राउन्ड हेण्डलिङ चार्जले पालिरहेको छ। निरज रञ्जितबाट

IME Life
kumari