stcnepal long ad
global ime bank long

नेपाल एयरलाइन्सबाट ग्वाञ्जाओमा सिधा उडान सुरू

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हिजो असोज ११ गते शनिवारदेखि चीनको ग्वाञ्जाओ शहरमा सिधा उडान सुरु गरेको छ । निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेपछि यसले नेपालको पर्यटन प्रबर्द्धन र व्यापारमा ठुलो सहयोग हुने भएको छ।

निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भएपनि केही प्राविधिक कमजोरी र तयारी पूरा नभएका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भएको कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिएका छन ।

ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी विभिन्न क्षेत्रका व्यक्ति तथा केही यात्रु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगिसकेको अवस्थामा उडान रद्द भएको थियो । विमानस्थल पुगेका यात्रुलाई निगमले होटलमा राखेर व्यवस्थापन गरि भोलीपल्ट उडाएको थियो ।

निगमका प्रवक्ता मनोजकुमार साहले बताए अनुसार काठमाडौँबाट शनिबार दिउँसो ग्वाञ्जाओ उडेको विमान ग्वाञ्जाओबाट एक सय सात यात्रु लिएर आइतबार काठमाडौँ फर्किएको छ ।

पूर्वनिर्धारित तालिका बमोजिम नै अब चीनको ग्वाञ्जाओमा नियमित उडान हुने जनाएको छ । निगमले प्रत्येक साता तीन नियमित उडान गर्ने तालिका बनाएको छ ।

पहिलो उडान असोज १२ गते र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने भएको छ । त्यसपश्चात् प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुने बताइएको छ । काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार तोकिएको निगमको व्यापार विभागले जनाएको छ ।

काठमाडौँ–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ ।

नेपाली व्यापारीहरूको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । निगमको ग्वाञ्जाओ उडानसँगै नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ ।

हाल नेपाल वायुसेवा निगमसँग रहेका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी विमान मार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुवई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारिता विमानस्थलमा अन्तरराष्ट्रिय उडान गरिरहेको निगम स्रोतले जनाएको छ ।

IME Lifesidebar
kumari