इक्वेडरसँग उरुग्वेको नमिठो हार
एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटको खेलमा उरुग्वेले नमिठो हार बेहोरेको छ । गएराति भएको दोस्रो छनोट खेलमा उरुग्वे इक्वेडरसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।
इक्वेडरलाई शानदार जित दिलाउनको लागि मिकाहिल इस्टार्डा दुई गोल गरे भने मोइसेस काइसेडो र गोन्जालो प्लाटाले समान एक–एक गोल गरे । उरुग्वेको लागि दुवै गोल स्वारेजले पेनाल्टी मार्फत् गरेका थिए ।
खेलको ७५औं मिनेटमासम्म इक्वेडरले उरुग्वेलाई ४(० ले अन्तरले पराजित गरेको थियो । त्यसपछि उरुग्वेले दुई पेनाल्टी पायो । स्वारेजले प्रहार गरेको उक्त दुवै पेनाल्टी गोलमा परिणत भएको थियो ।
खेलको १५औं मिनेटमा काइसेडोले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा इन्जुरी समयमा इस्टार्डाले गोल गरेर खेल २–० बनाए ।
दोस्रो हाफमा पनि इक्वेडरले दुई गोल थप्यो । ५२ औं मिनेटमा इस्टार्डाले व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई ३(० गोल अन्तरको अग्रता दिलाए । खेलको ७५औं मिनेटमा गोन्जालोले गोल गर्दै खेल ४० बनाए ।
त्यसपछि खेलको ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै उरूग्वेले एक गोल फर्कायो । बक्समा इक्वेडरका खेलाडीले फउल गरेपछि भिएआरमार्फत् पाएको पेनाल्टीमा स्वारेजले गोल गरे । इन्जुरी समयको पाँचौं मिनेटमा उरुग्वेले दोस्रो पेनाल्टी पायो, त्यसमा पनि स्वारेजले नै गोल गरेपछि खेल ४–२ मा खुम्चियो ।
जितसँगै इक्वेडरले दुई खेलबाट ३ अंक जोडेको छ । समान खेल खेलेको उरुग्वेको पनि ३ अंक रहेको छ ।






















