सीपीएलमा सन्दीप १ करोड बढी मूल्यमा जमैकामा अनुबन्धित
काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) को यो सिजन जमैका तलावाजबाट खेल्ने भएका छन् । सोमबार भएको सिपिएल सिजन २०२० को खेलाडी ड्राफ्टमा जमैका तलावाजले सन्दीपलाई दोस्रो राउन्डमा छनोट गरेको हो ।
सन्दीपले आफ्नो न्यूनतम मूल्य ९० हजार डलर ९१ करोड रुपैयाँ मूल्य तोकेका थिए । ईएसपीएन क्रिक इन्फोका अनुसार सन्दीपसँग जमैका तलावाजले करिब एक लाख ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको छ ।
सन्दीपसँगै अफगानी अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियन ब्याट्सम्यान बेन डंक पनि सोही मूल्यमा अनुबन्धित भएको ईएसपीएनले उल्लेख गरेको छ ।
सीपीएलमा सन्दीप अनुबन्धित भएको यो तेस्रो पटक हो । उनले सन् २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए ।
पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए । त्यस क्रममा उनले १७ ओभर बलिङ गर्दै १ सय ६ रङ खर्चेका थिए भने एक मेडन समेत राखेका थिए ।
दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्धित सन्दीपले ६ खेल खेलेका थिए । उनले कुल ८ विकेट लिए । १९।५ ओभर बलिङ गरेका उनले १ सय २९ रन खर्चेका थिए भने १ मेडन राखे ।
सन्दीप राष्ट्रिय टोलीको खेल जुधेपछि सिजनको बीचमै छोडेर गएपनि ट्राइडेन्ट्सले उपाधि जितेको थियो । उनको स्थानमा मुख्य स्पिनरका रुपमा खेलेका हेडन वाल्स जुनियरले भने उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पहिलो सिजन सेन्ट किट्समा अनुबन्ध हुँदा सन्दीपले ५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए । उनी त्यसबेला ११ औं चरणमा छनोट भएका थिए ।
दोस्रो सिजनमा भने बार्बाडोसले उनलाई पाँचौ चरणमा छान्दै ७० हजार अमेरिकी डलर तिरेको थियो । तर सन्दीप पूरा सिजन उपलब्ध नभएका कारण उनले अनुबन्ध रकमको शत प्रतिशत भने प्राप्त गरेनन् ।
सन्दीप आबद्ध जमैका तलावाजमा आन्द्रे रसेल, कार्लोस ब्रेथ्वेट, ओशाने थोमस, ग्लेन फिलिप्सलगायतका चर्चित खेलाडी रहेका छन् ।
यस सिजनको सीपीएल ट्रिनिडाड एन्ड टोबागोमा आउँदो अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुने तय भएको छ । कोरोना महामारीका कारण यो सिजनको सीपीएल बन्द रंगशालामा आयोजना हुने बताइएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन भने बाँकी रहेको छ ।




























