stcnepal long ad
global ime bank long

आठ महिनामा नौ खर्ब एकसट्ठी अर्ब भित्रियो रेमिट्यान्स

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आर्थिक मन्दीको सङ्केत बजारमा देखिइरहँदा राष्ट्र बैङ्कको तथ्याङ्कमा भने निरन्तर सुधार देखिएको छ । व्यापार व्यवसायमा सुस्तता, व्यापारीमा निराशा बढेको तथा उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको अहिलेको अवस्थामा पनि बाह्य क्षेत्र निरन्तर सुधारोन्मुख रहेको राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिएको हो ।

राष्ट्र बैङ्कका अनुसार शोधनान्तर स्थिति निरन्तर बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढिरहेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा चालु खाता एक खर्ब ६६ अर्ब ८७ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपियाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको छ ।

चालु आव २०८०/८१  को आठ  महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड  रुपियाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड  पुगेको छ ।  अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ० लिने नेपालीको सङ्ख्या दुुई लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ८४ हजार २७८ रहेको छ ।

विनिमय सञ्चिति झन्डै १९ खर्ब

चालु आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढेर फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपियाँ पुगेको छ । जसले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा फागुनमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपियाँ रहेकामा फागुनमा २२।२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब छ करोड रुपियाँ पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा फागुनमा १८.२ प्रतिशतले वृद्धि भई दुई खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।१ प्रतिशत रहेको छ ।

विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको आठ महिनामा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा विस्तृत मुद्राप्रदाय १४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) तीन खर्ब २७ अर्ब ५५ करोड रुपियाँ (२२.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति एक खर्ब ४२ अर्ब एक करोड रुपियाँ (१२.३ प्रतिशत) ले बढेको थियो ।

समीक्षा अवधिमा सञ्चित मुद्रा १.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा सञ्चित मुद्रा ७.६ प्रतिशतले बढेको छ ।

 

IME Lifesidebar
kumari