बजार माग बढाउन सरकारले सहयोग गर्नुपर्ने आवश्यकता:अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजार माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताएका छन् । उनले बजार माग बढाउन सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
बिहीबार मोरङ उद्योग व्यापार संघको ६७ औं वार्षिक साधारणसभा अवसरमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । सरकारले लगानी सम्मेलनअघि संशोधन गर्ने भनेका कानुनलाई समेत संशोधन गर्न उनको आग्रह छ ।
समयमै संशोधन नभए यसले सम्भावित लगानीकर्तामा नकारात्मक सन्देश जानेतर्फ उनले सचेत गराए ।
ढकालले महासंघको सुझावमा १२ वटा ऐन नियम संशोधनको प्रस्ताव गरिएको जानकारी दिए । संशोधनपछि केही जटिल विषय सम्बोधन हुने उनले विश्वास व्यक्त गरे ।
उनले व्यवसायीलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा सुविधा बन्द गरिएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण सुविधा पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरे ।
सुविधा ठप्प हुँदा उद्यमशीलतामा असर परेको उनको भनाइ छ।आन्तरिक माग कम हुँदा निर्यात गरेर र बढी पर्यटक भित्र्याएर माग बढाउनुपर्नेमा निकासीमा दिइने अनुदान रोकिएको ढकालले बताए ।
पुँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता पनि तिर्न सरकारलाई अध्यक्ष ढकालले आग्रह गरे। सरकारले व्यवसायीको मनोबल बढाउनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।