रेमिटेन्स २१ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) २१ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार फागुन मसान्तसम्म ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५।३ प्रतिशतले बढेको थियो ।
यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । यसअवधिमा २ लाख ८६ हजार ९३२ जनाले अन्तिम श्रम स्वीकृति लिएको तथा पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो ।