stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

कास्की । पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा वि.सं. २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रुपमा मनाउन लागेको जनाएको हो । पोखराले यसअघि फागुन २७ गतेलाई स्थापना दिवसका रुपमा मनाएको थियो ।

महानगर प्रमुख धनराज आचार्यले अभिलेख हेर्दा विसं २०१६ पुस २ गते पाँच हजार जनसङ्ख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको पाइएको बताउनुभयो । यसरी स्थापनाको ३६४औँ दिनमा यो नगर पञ्चायतमा परिणत भएको थियो ।

महानगरले स्थापना दिवसका अवसरमा भाषा साहित्य, कला ९सङ्गीत नृत्य, नाट्य, चित्रकला०, शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवर्द्धन र अन्य क्षेत्रहरुमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरू मध्येबाट नौ जनालाई पोखरेली नवरत्नबाट सम्मान गर्ने जनाएको छ ।

नवरत्नहरुलाई जनही नगद रु दुई लाख दुई हजार २०२ र ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने महानगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार आज बिहान पोखराको चिप्लेढुँगाबाट बृहत सांस्कृतिक झाँकी ¥यालीसहितको प्रभातफेरि पोखरा सभागृहमा आएर स्थापना दिवस मूल समारोह हुनेछ ।

“पोखरा महानगरको स्थापना दिवसलाई भव्य रुपमा मनाउने गरी तयारी गरेका छौँ । यसअघिसमेत सप्ताहव्यापी विविध कार्यक्रम गरेका छौँ । सभागृहमा स्थापना दिवस समारोह हुनेछ, सबै तयारी पूरा भएको छ”, प्रमुख आचार्यले भन्नुभयो ।

मूल समारोहमा महानगरपालिकामा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ट गरी ११ जना कर्मचारीलाई सम्मान गरिनेछ ।

यसैगरी महानगरपालिकाका ३३ वटै वडाहरू मध्येबाट सरसफाइमा उत्कृष्ट तीन वटा वडाहरू, महानगर मातहतका कार्यालयमध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालय र महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ ।

उमेर ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान प्रदान गरिनेछ । मूल समारोहमा पोखरा महानगरपालिकाकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेश नगरका प्रमुख तथा प्रतिनिधिहरू, मुलुकका सबै महानगरपालिका, उपमहानगरपालिकाका प्रमुखहरू, छिमेकी पालिकाका प्रमुखहरू, पोखरा महानगरपालिकाका पूर्वपदाधिकारीहरू, पूर्वप्रशासकीय अधिकृतलगायत विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको प्रमुख प्रशासकीय अधिृकत मुक्तिराम अर्यालले जानकारी दिनुभयो ।

स्थापना दिवसका दिनमा महानगर तथा मातहतका कार्यालयहरुको नियमित सेवा प्रवाह बन्द रहने जनाएको छ । विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएकामा त्यसपछि विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषणा भएको थियो ।

विसं २०७३ फागुन २७ गते पोखरा वरपरका साविकका पाँच गाविस र लेखनाथ नगरपालिकासहित पोखरा लेखनाथ महानगरपालिका घोषणा गरिएको थियो ।

यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७५ साउन २३ गतेको निर्णयले पोखरा महानगरपालिका नाम कायम गरिएको थियो । सो निर्णयको सूचना विसं २०७५ भदौ २५ गते राजपत्रमा  प्रकाशित भएपछि औपचारिक  रुपमा पोखरा महानगरपालिका कार्यान्वयनमा आएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari