सात दिनभित्र अतिक्रमित संरचना नहटाए काठमाडौं महानगरपालिकाले डोजर चलाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन सात दिने सूचना जारी भएको छ ।
शुक्रबार काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले जारी गरेको सूचना अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास र व्यवस्थापन विरुद्ध भए/गरेका वा निर्माण भएका संरचना हटाउन भनेको हो । सूचनामा यस्ता संरचनाको बारेमा जानकारी भएमा महानगरपालिकालाई जानकारी दिन सर्वसाधारणसँग पनि आह्वान गरिएको छ ।
पछिल्लो समय अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने काममा सक्रिय रहेका महानगरपालिकाका मेयर बालेन्द्र साहले गत असोज २ गते यस विषयमा प्राधिकरणसँग छलफल गरेका थिए । बैठकमा अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय भएको थियो ।
काठमाडौंको नदी किनारका सुकुम्बासी बस्ती हटाउन पटकपटक प्रयास गरेका साहलाई केन्द्रीय सरकारले सहयोग नगर्दा उनले बस्ती हटाउन सकेका थिएनन् । अहिले उनी निकटका ओमप्रकाश अर्याल गृहमन्त्री भएका बेला उनले अतिक्रमित संरचनामाथि कारबाही गर्न लागेका हुन् ।


























