stcnepal long ad
ime life insurance
national life
global ime bank long

वालिङ नगरपालिकाको बजेटमा वडा अध्यक्षको हस्तक्षेप

नगर गौरवका अधुरा योजना अलपत्र, जनप्रतिनिधिको कार्यशैली प्रति नागरिकमा चरम असन्तुष्टी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

वालिङ। वालिङ नगरपालिकाले १६ औं नगरसभा सम्पन्न गरेको २ महिनासम्म पनि चालु आर्थिक वर्षको योजना सार्वजानिक गर्न सकेको छैन । नगरपालिकाको गत असारमा आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट विनियोजन गरेपनि जनप्रतिनिधिको एक आपसको द्वन्दका कारण योजना सार्वजानिक हुन नसकेको हो ।

स्थानीय तहको बजेट निर्माण उपप्रमुख ले गर्ने कानुनी प्रावधान रहेको छ । वालिङ नगरपालिकामा उपप्रमुखले बजेट तथा योजना प्रस्ताव गरेको कार्यपालिकाले स्वीकार नगरेपछि विवाद श्रृजना भएको थियो । त्यसपछि उपप्रमुखको अधिकारमाथी वडा अध्यक्षहरुले हस्तक्षेप गरी नगर प्रमुख र वडा अध्यक्षहरुले योजना निर्माण गरेका हुन ।

यो प्रकृयामा उपप्रमुखको सहभागिता रहेको छैन् । उपप्रमुखले प्रस्ताव गरेको बजेट भन्दा फरक निर्माण गर्दा नगर स्तरीय अधुरा योजनामा रकम विनियोजन गरिएको छैन ।

यस अधि नगरसभावाट प्रत्येक वडालाई ५० लाख र १४ नं वडालाई ६० लाख वडास्तरीय बजेट तोकिएकोमा पुन वडा अध्यक्षहरुले २० लाख र कार्यपालिका सदस्यहरुले ५ लाख गरी योजना वाडफाँड गरेको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

नगरपालिकाको रणनैतिक कार्ययोजना, अल्पकालिन र दीर्घकालिन योजना अलपत्र परेका छन् । यसरी नगरपालिकाको बजेटमा वडा अध्यक्षको प्रत्यक्ष हस्तक्षेपको नागरिकले विरोध जनाउन थालेका छन् ।

नगरपालिका स्थापनाको पहिलो २०५२ सालमा नामाकरण गरिएको रिङ रोड मिर्दी भिमटारी विपिचोक हुँदै डुम्रिकोट सडक २ वर्षदेखि अलपत्र पारेर निर्माण रोकिएको र यस वर्ष पनि बजेटले सम्वोधन नगरेपछि नागरिकहरु आन्दोलित भएका छन् ।

चालु आर्थिक बर्षको बजेटले गौरवका आयोजना समेत नसमेट्ने र टुक्रे योजना बनाई नगरपालिकाको बृहत्तर विकासमा असर परेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।

वालिङ नगरपालिकाको राजधानीको रुपमा रहेको ८ नम्वर वडाका नागरिकहरुले वडा अध्यक्ष र नगर प्रमुखलाई एक हप्ताको अल्टिमेटम सहितको ध्यानाकर्षणपत्र वुझाएका छन् ।

वालिङको वैकल्पिक सडकको रुपमा प्रयोग हुने उक्त सडक निर्माणमा नगरपालिका उदासिन बनेकोले नगरपालिका र वडा कार्यलयका विरुद्ध संघर्षका कार्यक्रम सार्वजानिक गरी आन्दोलन गर्न वाध्य भएको संघर्ष समितिका संयोजक हुमनाथ अर्यालले जानकारी दिए ।

मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सिंहदरबारको अधिकार गाउँ—गाउँमा पुग्ने अपेक्षा नागरिकले गरेका थिए तर गाउँगाउँमा पुगेका सिंहदरबारहरु भष्ट्रचारमा लिप्त हुन थालेको ज्ञापनपत्र मार्फत आरोप लगाईएको छ ।

स्थानीय तहलाई जनताको घरदैलोको सरकारको रुपमा लिएका छौं ज्ञापनपत्रमा भनिएको छ,‘नागरिकको आवश्यकता भन्दा पनि जनप्रतिनिधिले लाभलिने योजनालाई प्रथामिकतामा दिन थालिएको महशुष गरिएको छ ।’

जसले गर्दा नगरपालिकाको गौरवाका आयोजना अलपत्र पार्ने र जनप्रतिनिधिले लाभ लिने कार्य बन्द गर्नुपर्छ वडावासीको तर्फबाट संयोजक अर्यालले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाको १६ औं नगरसभाबाट सार्वजनिक भएको बजेटमा उक्त सडक बनाउने प्रतिवद्धता ७ दिनभित्र दिन नसकेमा वडा कार्यालय सहित नगरपालिकामा समेत तालाबन्दी गर्ने चेतावनी वडावासीले दिएका छन् ।

तालाबन्दी पछि नागरिकमा पर्ने असुविधाको वडा कार्यालय र नगरपालिका जिम्मेवार हुनुपर्ने समेत वडावासीले चेतावनी दिएका छन् ।

वडावासीको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख कृष्ण खाँणले सिमित साधनश्रोतले नगरको विकासमा भनेजस्तो काम गर्न नसकिएको उल्लेख गरे ।

नगरपालिकाकै पुरानो यो सडक निर्माणका लागि नगरपालिकाले छिट्टै निकास दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

वालिङ नगरपालिकाले ३ ओटा सडकलाई प्रथामिकतामा राखेको छ ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खाँणले भने,‘प्रथामिकतामा राखेका सडक निर्माणका लागि प्रदेश र संघिय सरकारसगँ माग गर्ने योजनामा छौं ।’ जनप्रतिनिधिलाई झकझक्याउने काम गरेकोमा वडावासी धन्यवादको पात्र हुनुभएको छ उनले भने ।

वडा नम्वर ८ का वडा अध्यक्ष दामोदर तिवारीले वडावासीको माग प्रति आफु गम्भीर रहेको बताए । नगरपालिकामा प्रयाप्त बजेट नहुँदा सडक बनाउन ढिलाई भएको तिवारीको भनाई छ ।

वडावासीले दिएको सुझावलाई आफुले अनुसरण गर्दै यो सडक निर्माणमा वडा कार्यालयको पुर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

वालिङ नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि ९६ करोड १४ लाख ४१ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । जनप्रतिनिधिहरुको बिवादका कारण अहिले सम्म पनि बजेट पारित नभएको बताइएको छ ।

IME Lifesidebar
kumari