भेरी नगरपालिकाका प्रशासकीय अधिकृत,वडाअध्यक्ष सहित १४ जुहाडे पक्राउ
सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष सहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आज पुस १८ गते आइतबार बिहान करिब ३:०० बजेतिर उनीहरूलाई नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जनाएको छ।
जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जुवा खालबाट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति सशी बुढा पनि पक्राउ परेको एक प्रहरी अधिकृतले बताएका छन् ।
ती प्रहरी अधिकृत अनुसार उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ । उनीहरूले जुवा खेलमा मोबाइल बैकिङको प्रयोग गरेका कारणले थप रकम खेल भएको जानकारी दिएका छन । प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन ।


























