पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ: अध्यक्ष बस्नेत
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा सीपयुक्त जनशक्तिको कमी रहेको बताएका छन् ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्धारा संचालित संचार केन्द्र नेपालको हलमा आयोजित ‘प्राबिधिक शिक्षाको अवस्था र यसको बिकासमा सञ्चारकर्मीको भूमिका’ विषयक एक बृहत् अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रमा पनि सम्बन्धित विषय नपढेका जनशक्तिले समेत काम गर्दा विभिन्न समस्या उत्पन्न भएको बताएका छन् ।
पत्रकारिता स्वच्छ, प्रतिस्पर्धी र मर्यादित हुनुपर्ने वताउँदै उनले आचारसंहिताको पालना हुन नसकेको बताएका छन् ।
अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्र जस्तै अन्य क्षेत्रहरुमा समेत दक्ष जनशक्तिको अभाव रहेको बताउँदै भने –‘हाइड्रो क्षेत्रमा बर्षेनी खरबौंको काम हुन्छ तर नेपालीहरुले सीपको अभावका कारण सबैभन्दा तल्लो लेबल अर्थात मजदुरीको काममात्र पाउँछन् ।’ नेपालमा दक्ष र सीपयुक्त जनशक्ति नहुँदा विदेशबाट नै दक्ष जनशक्ति मगाउनुपर्ने बाध्यता रहेको उनले बताएका छन् ।
सिटिईभिटीले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरेको भएपनि त्यो जनशक्ति नेपालका लागि पर्याप्त नभएकाले थप दक्ष जनशक्ति उत्पादनमा सिटिइभिटिले ध्यान दिनुपर्ने उनले बताए ।
‘गाउँ गाउँमा समेत सिटिईभिटीले उत्पादन गरेको जनशक्ति परिचालन भईरहेको वताउँदै अध्यक्ष बस्नेतले यसका राम्रा÷नराम्रा पक्षलाई बाहिर ल्याउनु पत्रकारिताको मूल धर्म भएको बताएका छन् ।
अध्यक्ष बस्नेतले पत्रकारहरु पनि सिपयुक्त बनेर स्वच्छ र मर्यादित पत्रकारिता गर्न आग्रह गर्दै प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिताबारे देशव्यापी जागरण अभियान गरिरहेको जानकारी गराएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि तथा सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले नेपालमा सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी गराउदै सिटिईभिटीले उद्यमी र उत्पादनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवाहरुको विदेश पलायन रोक्ने लक्ष लिएको उनले बताएका छन् ।
कार्यक्रममा सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन बहादुर हमालले विकासको स्तरलाई मूल्यांकन गर्नका लागि त्यस देशको प्राविधिक पक्षलाई हेरिने बताउदै जुन देश विकसित देशको रुपमा कहलिएको छ, ती देशहरुले प्राविधिक क्षेत्रमा उल्लेख्य फड्को मारेको वताए।
महानिर्देशक हमालले भने ‘जुन देशले प्राविधिक क्षेत्रमा विकास गर्दछ ती देशहरु विकसित र समृद्धमा जोड दिन्छ । अमेरिका, चीन, जापान, भारत बिकसित राष्ट्रको रुपमा कहिलिनु पनि त्यसैको उपज हो ।’
महानिर्देशक हमालले सञ्चारकर्मीहरुमा प्राधिक ज्ञान र दक्षता प्रर्याप्त नहुँदा यदाकदा जनतामा भ्रामक सन्देशहरु पनि प्रवाह भइरहेको बताउँदै पत्रकार तथा सञ्चारकर्मीहरुले समेत प्राविधिक ज्ञान र दक्षता हाँसिल गर्न आवश्यक रहेको बताएका छन् ।
पछिल्लो समय पत्रकारिता क्षेत्र राजनीतिभित्र मात्र फन्को मारिरहेको बताउँदै अब पत्रकारहरुले आफ्ना समाचार र लेखमा प्राविधिक शिक्षालाई महत्वमा राख्नुपर्नेमा महानिर्देशक हमालले जोड दिएका छन् ।
पत्रकार मुलुककै तेस्रो आँखा भएका कारण प्राविधिक क्षेत्रमा भएका तमाम समस्याहरुलाई बाहिर ल्याउन समेत आग्रह गरेका छन। कार्यक्रममा वरिष्ठ पत्रकार गोविन्द चौलागाईले पनि सम्बोधन गर्नु भएको थियो।


























