११ स्रष्टालाई शान्ति समाजद्वारा विभिन्न पुरस्कारबाट सम्मान
काठमाडौं । स्रष्टा सम्मान अभियानअन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न पुरस्कारहरुद्वारा ५ महिलासहित ११ स्रष्टालाई सम्मान गरिने भएको छ ।
यस क्रममा वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान आहुति (विश्वभक्त दुलाल) लाई, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान नीलम कार्की निहारिकालाई, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान व्याकुल माइला (प्रदीपकुमार राई) लाई, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान प्रमोद प्रधानलाई र महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी जोगमाया बराल स्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, राधादेवी दाहाल स्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई, भूमिप्रसाद बराल स्रष्टा सौगात वसन्ती शाहीलाई, श्रीप्रसाद दाहाल स्रष्टा सौगात बालिका चौधरीलाई, श्रीनारायण दाहाल स्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कृत स्रष्टाहरु पाँचजना महिला स्रष्टासहित ७ वटै प्रदेशका छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिका दिन विशेष कार्यक्रम आयोजना गरी जनही २० हजार रुपैयाँ नगद पुरस्कार सहित पुरस्कृत स्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेको समाजका महासचिव सुशील बस्नेतले विज्ञप्ति मार्फत जनाएका छन् । दशक अगाडिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको समाजले साहित्यको आराधना र स्रष्टा सम्मानलाई अभियानका रुपमा अघि सारेको हो ।
























