citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

तनहुँमा तीन जनाबीच मुख्य प्रतिस्पर्धा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । तनहुँ क्षेत्र नम्बर –१ मा आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी माहोल तातिएको छ ।

गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी बन्नु भएको थियो भने पौडलको निकटतम प्रतिद्वन्दी एमालेका एकबहादुर रानामगरको १९ हजार ९ सय ८१ मत आएको थियो । कांग्रेसका बागी उम्मेदवार गोबिन्दराज जोशीको ६ हजार ८८६ मत आएको थियो त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विकास सिग्देललाई ६ हजार ४४ मत प्राप्त भएको थियो । गत फागुन २५ मा पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ –१ खाली भएको हो र त्यहाँ बैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

सो निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट गोबिन्द भट्टराई,नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनाल,रास्वपाका तर्फबाट स्वर्णिम वाग्ले लगायत अन्य साना दलहरुसहित गरेर ९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुले स्थानीयसँग मत माग्न थालिसकेका छन् ।

तीन जनाबीच प्रतिस्पर्धा

तनहुँ १ को उपनिर्वाचनमा अरु दलहरुले उम्मेदवारी दिएपनि मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेसका गोबिन्द भट्टराई,एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच नै हुने विश्लेषण गरिएको छ । कांग्रेसका भट्टराई लामो समयदेखि राजनीतिमा सक्रिय ब्यक्ति हुन् । उनको प्रतिनिधि सभामा उम्मेदवारी पहिलोपटक हो । त्यस्तै एमालेका खनाल नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक हुन् । खनाल गत मंसिर ४ मा भएको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट एमालेका उम्मेदवार बनेका थिए । तर उनी पराजित भएका थिए । त्यस्तै वाग्ले २०७४ मा कांग्रेस सरकारको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए । उनी अहिले कांग्रेस छोडेर रास्वपामा लागेर उम्मेदवार बनेका हुन् । गोरखा घर भएका वाग्ले तनहुँ झरेर उम्मेदवार भएका हुन् । कांग्रेसका भट्टराई तनहुँकै स्थानीय वासिन्दा हुन भने एमालेका खनाल पनि तनहुँमै जन्मिएका हुन् ।

कसले मार्ला बाजी ?

गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा तनहुँ १ मा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल विजयी हुँदा नेकपा एमालेका उम्मेदवार दोस्रोमा थिए भने रास्वपा चौथो थियो । कांग्रेसका बागी गोबिन्दराज जोशी तेस्रो स्थानमा थिए । तर यसपटक जोशी समर्थकको मत कसलाई जान्छ भन्ने टुंगो लागेको छैन जोशी पनि खुलेका छैनन् ।मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस,एमाले र रास्वपाका तीनै जना उम्मेदवार नयाँ अनुहार हुन् । तनहुँमा राम्रो पकड रहेको कांग्रेसका उम्मेदवार भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समर्थन रहेको छ । उनी गठबन्धनका साझा उम्मेदवार हुन् । उता सांगठनिक रुपमा नेकपा एमाले पनि बलियो पार्टी हो । रास्वपा भने भर्खर उदाएको पार्टी हो तर रास्वपाका उम्मेदवार वाग्लेलाई भने बलिया उम्मेदवारको रुपमा हेरिएको छ ।

वाग्ले विगतमा कांग्रेसमा रहेका कारण कांग्रेसका केही भोट काट्ने अनुमान गरिएको छ । कांग्रेसको भोट वाग्लेले काट्दा एमालेले आफ्ना उम्मेदवार खनालले जित्न सक्ने आकलन गरेको छ भने सत्ता गठबन्धनको भर भएकाले कांग्रेसका भट्टराइलाई चुनाव जित्न कुनै डर नभएको कांग्रेस नेताहरु दाबी गर्छन् । उता रास्वपाका वाग्लेलाई युवा मतदाता र कांग्रेस एमालेका भोट काट्न सके जित निकाल्न सकिन्छ भन्ने विश्वास रहेको रास्वपाका स्थानीय नेताहरु बताउँछन् । निर्वाचन आयोगका अनुसार तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् । तीनै जना नयाँ अनुहार भएकाले कसले निर्वाचन जित्ला भन्ने कुरा त्यति सहज छैन ।

himalayan life insurance
igi long