evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

राष्ट्रपतिका लागि दुई पूर्वसभामुखको भीडन्त

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा दुई जना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति पदमा नेपाली कांग्रेससहितका आठ दलले पूर्वसभामुखसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले

पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।राष्ट्रपतिका दुवै उम्मेदवारले शनिबार संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । २५ फागुनमा राष्ट्रपति चयन गर्न मतदान हुँदै छ ।

कांग्रेससहित आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेललाई सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको मुख्य साथ छ । यसैगरी एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ पौडेलले पाएका छन् ।

यस्तै, एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन् । तर, एमाले नेताहरूले भने १० पुसमा भएको सहमतिअनुसार नै राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रसहितको साथ पाउने अपेक्षामा छ ।

राष्ट्रपति पदका लागि कांग्रेसबाट उम्मेदवार बनेका पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान छन् । यस्तै, समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन् ।

एमाले उम्मेदवार नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकहरूमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन् ।

राष्ट्रपतिका लागि कांग्रेससहित आठ दलको साथ पाएका पौडेल ३ पुस २०५१ देखि ९ चैत २०५५ सम्म सभामुख थिए । यस्तै, नेम्वाङ १२ साउन २०६५ देखि १४ जेठ २०६९ सम्म पहिलो कार्यकालमा संसदको सभामुख बनेका थिए ।

नेम्वाङ ६ फागुन २०७० देखि २७ असोज २०७२ सम्म दोस्रो कार्यकालका लागि पुनः सभामुख बनेका थिए ।  संविधानसभा निर्वाचनपछि दुवै संविधानसभामा नेम्वाङ अध्यक्षको भूमिकामा थिए ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने आगामी २८ फागुनमा सकिँदै छ । उनी २८ फागुन २०७४ मा राष्ट्रपति निर्वाचित बनेकी थिइन् ।

उपराष्ट्रपतिको पदावधि ३ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।देशको पहिलो राष्ट्रपतिमा डा। रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

यस्तै, तेस्रो पटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुनः दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो ।

राष्ट्रपति चुन्न पुरानै मतभार

निर्वाचन आयोगले २०७४ सालको राष्ट्रपति निर्वाचनको मतभारलाई नै आधार मानेर २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने भएको छ । २०७४ सालमा संघीय संसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम थियो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको अनुसूची अनुसार देशको कुल जनसंख्यालाई संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने भागफललाई १ हजारले भाग गर्दा जुन नम्बर आउँछ, त्यो नै एक संघीय सांसदको मतभार हुन्छ ।

प्रदेशसभा सदस्यको मतभार पनि यही प्रक्रियाबाट तय हुन्छ । आयोगले पछिल्लो २०७८ मा सम्पन्न जनगणनाको अन्तिम विवरण औपचारिकरूपमा सार्वजनिक नभएकाले पुरानै मतभारबाट राष्ट्रपति निर्वाचन गर्न लागेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०६८ सालको जनसंख्यालाई आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको तर अहिले २०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभइसकेका कारण पुरानै मतभारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने अवस्था आएको बताए ।

‘२०६८ को जनसंख्यालाई आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको थियो, अहिले २०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन । त्यसैले आयोगले पुरानै मतभारमा निर्वाचन गर्ने गरी तयारी गरेको हो,’ प्रमुख आयुक्त थपलियाले भने ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए । उनका अनुसार उपराष्ट्रपतिको निर्वाचन भने ३ चैत्रमा हुनेछ ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि काठमाडौंमा नै मतदान गरिने जनाएको छ । राष्ट्रपति निर्वाचनमा ८८२ मतदाता कायम भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको थियो । जसअनुसार प्रदेशसभाका ५५० सदस्य र संघीय संसदका ३३२ गरी ८८२ जना मतदाता कायम भएका हुन् ।

आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवारको मनोनयन दर्ता भइसकको छ । आयोगले मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको सूचीसमेत शनिबार नै प्रकाशित गरिसकेको छ ।

आयोगका अनुसार आइतबार उम्मेदवार विरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । आयोगले उम्मेदवारको मनोनयन र उजुरीउपर छानबिन गरी १४ र १५ फागुनमा निर्णय गर्ने छ भने १५ फागुनकै दिनमा साँझ उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १६ फागुनमा फिर्ता गर्न समय निर्धारण गरेको छ भने १६ फागुनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ र २५ फागुनमा राष्ट्रपति चुन्न निर्वाचन हुनेछ ।

त्यस्तै, उपराष्ट्रपतिको निर्वाचन ३ फागुनमा हुनेछ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फरक–फरक मितिमा गर्नुपर्ने उल्लेख छ । उपराष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नेदेखि अन्य निर्वाचन कार्यक्रमका काम भने राष्ट्रपति निर्वाचनलाई मानिने आयोगले बताएको छ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता २७ फागुनमा हुनेछ भने मनोनयन दर्ता भएको उम्मेदवारको सूची सोही दिन प्रकाशित गर्ने तथा उम्मेदवारको विरोधमा उजुरी दिन सोही दिन तोकिएको छ ।

यसैगरी, २८ फागुनमा उपराष्ट्रपतिका उम्मेदवारको मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ । आजको राजधानी दैनिकमा समाचार छ ।

igi long
himalayan life insurance long ad